नयाँ प्रशिक्षक म्याट रसको प्रशिक्षणमा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न लागेको नेपाली फुटबल टोलीले सुखद प्रदर्शन गर्ने अपेक्षा राखेको छ।
अस्ट्रेलियन प्रशिक्षक रस गत फागुन २० गते नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएका थिए। त्यसयता करिब एक महिनाको प्रशिक्षणबाट उनले एएफसी एसियन कप क्वालिफायर र मैत्रीपूर्ण फुटबल खेलका लागि टोली तयार गरेका हुन्।
रसको प्रशिक्षणमा नेपालले पहिलो खेल सिंगापुरविरुद्ध खेल्दै छ। जुन अस्ट्रेलियन प्रशिक्षकका लागि परीक्षा पनि हुनेछ। यी खेलका लागि भएको बिदाइ कार्यक्रममा प्रशिक्षक रस र नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बूले सुखद प्रदर्शन गर्ने अपेक्षा राखेका छन्। दुवैले क्षमतावान् युवा खेलाडी सम्मिलित टोली सन्तुलित बनेको र यो टोलीले राम्रो प्रदर्शन गर्न सक्ने धारणा व्यक्त गरे।
कप्तान लिम्बूले मैत्रीपूर्ण फुटबल र एएफसी एसियन कप क्वालिफायरमा उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन्। नेपालले एएफसी एसियन कप छनोटअगाडि मैत्रीपूर्ण फुटबल खेल्न लागेको हो। मार्च २१ गतेदेखि मैत्रीपूर्ण खेल सिंगापुरमा हुनेछ। त्यसपछि मार्च २५ मा नेपालले मलेसियासँग एएफसी एसियन कप क्वालिफायरमा चुनौती प्रस्तुत गर्नेछ।
नेपालका कप्तान तथा गोलकिपर किरणले अवे खेल हुने भएकाले केही असहज हुने भए पनि उत्कृष्ट प्रदर्शन गर्ने बताएका हुन्। उनले अहिले नै यो गर्छौं र ऊ गर्छौं भन्नुभन्दा पनि राम्रो खेल्ने उल्लेख गर्दै आफ्नो टोलीमा धेरै अनुभवी खेलाडी नभए पनि क्षमतावान् रहेको बताएका छन्।
उनले टोली सन्तुलित रहेको र चोटबाट अनुभवी खेलाडी रोहित चन्द पनि फर्कनु सुखद पक्ष रहेको बताएका छन्। समग्रमा आफ्नो टोली सन्तुलित रहेकाले राम्रो नतिजाको आशामा उनी छन्। छोटो तयारीका बावजुद सिंगापुरसँगको मैत्रीपूर्ण खेल छनोटका लागि राम्रो माध्यम बन्ने उनको विश्वास छ। कप्तान किरणले नयाँ प्रशिक्षकको प्रशिक्षणमा धेरै राम्रो परिवर्तन देखिने बताएका छन्। साफअगाडि लगातार खेल हुनु टोलीका लागि सुखद पक्ष रहेको उनी बताउँछन्।
नेपाली टोलीका प्रशिक्षक म्याट रसले टोलीमा धेरै क्षमतावान् खेलाडी रहेकाले खेलका लागि उत्साहित रहेको बताएका छन्। टोलीमा अनुशासित र शतप्रतिशत कमिटमेन्ट दिने खेलाडी रहेकाले पनि आफू राम्रो नतिजाको आशामा रहेको उनको विश्वास छ। ३० दिनसम्म खेलाडीसँग प्रशिक्षणमा रहेपछि राम्रा खेलाडी छनोट गरेको उनको भनाइ छ।
टेक्निकल्ली राम्रा खेलाडी रहेको यो युवा टोलीबाट सकारात्मक नतिजाको अपेक्षामा आफू रहेको उनले बताए। मंगलबार नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङले बिदाइ गरेका थिए। मैत्रीपूर्ण र छनोट खेलका लागि गत सोमबार नेपाली टोलीको घोषणा भएको थियो। युवा फरवार्ड सुवास बम ठकुरी, गोलकिपर अन्जल श्रेष्ठ र डिफेन्डर सुमन श्रेष्ठ गरी तीन नयाँ अनुहार समेट्दै नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको हो।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक रसले २३ सदस्यीय टोली घोषणा गरेका हुन्। अधिकांश खेलाडी विदेश पलायन भएकाले नयाँ खेलाडीले अवसर पाउने उनले उल्लेख गर्दै आएका थिए। उनले विदेश गएका खेलाडीका लागि ढोका सदैव खुला रहेको प्रतिक्रिया दिएका थिए।
उनले युवा खेलाडीलाई प्राथमिकतामा राखेका छन्। उनले बिदाइ कार्यक्रममा पनि युवा खेलाडीमा धेरै क्षमता रहेको र यो टोलीबाट धेरै आशा गरेको बताएका छन्। नेपाली टोलीको गोलकिपरमा किरण चेम्जोङ, दीप कार्की, अन्जल श्रेष्ठ, डिफेन्डरमा अनन्त तामाङ, विमल पाण्डे, सनिस श्रेष्ठ, रन्दीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बू, सुमन श्रेष्ठ, मिडफिल्डरमा रोहित चन्द ठकुरी, लाकेन लिम्बू, रोहन कार्की, मणिकुमार लामा, भरत खवास, एरिक विष्ट, मनीष डाँगी, कृतीशरत्न छुन्जु, आयुश घलान तथा फरवार्डमा सुवास र रेजिनसँगै जिलेस्पीजंग कार्की र अञ्जन विष्ट छन्। कप्तान किरण, रोहित र अन्जन लामो समय देखिएका नियमित सदस्य हुन्।
प्रकाशित: ६ चैत्र २०८१ ०८:४४ बुधबार