विभागीय टोलीद्वय त्रिभुवन आर्मी र नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पाँचौं खेलसम्म आफ्नो अपराजित यात्रा कायमै राखेका छन्। लुम्बिनी प्रदेशमा सोमबार सम्पन्न विभागीय डर्बीमा आर्मीले एपिएफविरुद्ध तीन विकेटको विजय प्राप्त गर्दा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले हराएको छ।
१० टोली सहभागी प्रधानमन्त्री कपमा आर्मी र पुलिस मात्र अपराजित छन्। जितसँगै समान पाँच खेलबाट आर्मी र पुलिसको समान १० अंक छ। तर, नेट रनरेटका आधारमा पुलिस शीर्ष स्थानमा रहँदा आर्मी दोस्रोमा छ।
आर्मीसँग पराजित भएको एपिएफ समान खेलबाट ६ अंकसहित चौथोमा छ। पुलिसलाई नतिजा सुम्पिएको सुदूरपश्चिम भने एक जितसहित पुछारमा छ। भैरहवाको एक्ट्राटेक ओभलमा भएको विभागीय डर्बीमा एपिएफले १४२ रनको लक्ष्य प्रस्तुत गरेको थियो।
तर, जबाफमा आर्मीले ४२.५ ओभरमा सात विकेट गुमाउँदै लक्ष्य भेट्टायो। सामान्य लक्ष्य पछ्याए पनि शीर्ष पाँच ब्याटर सस्तैमा आउट हुँदा आर्मी दबाबमा थियो। तर, कुशल मल्लले अविजित ३१ रन, विवेक यादवले २६ र सोमपाल कामीले अविजित २२ रन जोड्दै जित दिलाए।
सातौं विकेटका लागि कुशल र सोमपालबीच ५८ रनको अविजित महत्वपूर्ण साझेदारी भएको थियो। कुशलले ५९ बलमा चार चौका र एक छक्का तथा सोमपालले ५१ बलमा एक चौका हिर्काए। बसिर अहमदले १३ र इमरान शेखले ११ रन बनाए। एपिएफका बलरले कसिलो बलिङ गर्दै आर्मीलाई रोक्ने प्रयास गरे पनि सफल भएनन्।
कमलसिंह ऐरी, अमरसिंह रौटेला र कप्तान रोहितकुमार पौडेलले समान दुई तथा किशोर महतोले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपिएफ ४२.२ ओभरमा १४१ रनको सामान्य योगफलमा समेटियो। मध्य क्रमका ब्याटर सन्दीप जोराबाहेक अन्य ब्याटर चल्न नसक्दा एपिएफ सामान्य योगफलमा समेटिएको हो।
सन्दीपले ६५ रनको अर्धशतकीय योगदान दिए। ९१ बलमा उनले ९ चौका हिर्काए। अमर, भुवन कार्की र किशोर महतोले समान ११ रन बनाए। आर्मीले अतिरिक्त २५ रन दिँदा एपिएफलाई केही सहज भएको थियो। आर्मीको बलिङमा आकाश चन्दले चार विकेट तथा सोमपालले तीन, साहब आलमले दुई र बसिरले एक विकेट लिए।
सिद्धार्थनगर क्रिकेट मैदानमा पुलिसले सोमबार सुदूरपश्चिमलाई हराउँदा स्पिनर ललितनारायण राजवंशीले फेरि उत्कृष्ट प्रदर्शन गरे। उनी एक्लैले ६ विकेट लिँदै सुदूरपश्चिमको ब्याटिङ धराशायी बनाए। पुलिसले १६१ रनको सामान्य लक्ष्य दिएको थियो। तर, स्पिनरसामु ब्याटर चल्न नसकेपछि सुदूरपश्चिम २८.३ ओभरमा ९९ रनमै समेटियो। आठौं नम्बरमा ब्याटिङ गर्न आएका शेर मल्लले ३२ रन बनाए। यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो। शेरको अलराउन्ड प्रदर्शन बावजुद सुदूरपश्चिमको हार टरेन। मिलन बोहराले २३ र टेक रावले १२ रन जोडे। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।
पुलिसको बलिङमा ललितले सात ओभरमा मात्र १६ रन दिए। अर्का स्पिनर सागर ढकालले दुई र करण केसीले एक विकेट निकाले। त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिस ४७ ओभरमा १६० रनमा नै समेटिएको थियो। तर, बलिङमा साथ पाउँदा पुलिसले यो लक्ष्य जोगाउन सफल भयो।
पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ४२, आरिफ शेखले ४०, सागर ढकालले २२, दिलीप नाथले १० र अमित श्रेष्ठले १८ रन बनाए। सुदूरपश्चिमको बलिङमा सूर्य श्रेष्ठले चार, भोजराज भट्टले तीन, शेरले दुई र हेमन्त धामीले एक विकेट लिए। दिनको अर्को खेलमा लुम्बिनी प्रदेशले मधेस प्रदेशलाई ८३ रनले हरायो।
लुम्बिनीको यो लगातार दोस्रो जित हो। जितसँगै लुम्बिनीले पाँच खेलमा आठ अंक जोडेको छ। पराजित मधेसको चार खेलबाट दुई अंक छ। सोमबार दाङको देउखुरी क्रिकेट मैदानमा लुम्बिनीले १५९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा मधेस ४६ ओभरमा ७५ रनमै समेटियो।
मधेसका दीपेश दासले २३ र हरिशंकर शाहले १४ रन बनाए। त्यसबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। लुम्बिनीका लागि रमेश कुर्मीले चार, विप्रसन केसीले तीन तथा अजय चौहान र कप्तान देव खनालले समान एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले ४६ ओभरमा सबै विकेट गुमाउँदै १५८ रनको योगफल तयार पारेको थियो। लुम्बिनीका आकाश त्रिपाठीले सर्वाधिक ७३ रन जोडे। १२३ बलमा उनले ६ चौका र एक छक्का हिर्काए।
कृष्ण कार्कीले ३३ र देव खनालले १६ रन बनाए। छैटौं विकेटका लागि आकाश र कृष्णले ७५ रनको साझेदारी गरे। मधेसका लागि विशाल पटेल र कमल गुप्ताले समान तीन तथा हरिशंकर शाह, प्रदीप पासवान र रञ्जित कुमारले समान एक विकेट लिए।
प्रकाशित: ५ चैत्र २०८१ ०८:०२ मंगलबार