युगान्डामा जारी वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले बुधबार नामिबियासँग प्रतिस्पर्धा गर्दैछ । नामिबियाविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । खेल अहिले केहीबेरमा युगान्डाको एन्टेबे क्रिकेट मैदानमा सुरु हुनेछ ।
यसअघिका तीन मध्ये दुई खेलमा पराजित नेपाल नामिबियाविरुद्ध जित्नै पर्ने दबाबमा मैदान उत्रनेछ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले र तेस्रो खेलमा हङकङसँग २ रनले पराजित भएको थियो । घरेलु टोली युगान्डालाई भने नेपालले एक विकेटले पराजित गरेको थियो ।
जारी प्रतियोगितामा तीन खेल बाँकी रहँदा नेपाल दुई अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएकाले नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब छ।
अर्कोतर्फ नामिबिया पनि नेपालकै पदचापमा छ। नेपाललाई पराजित गरेयता उसले कुनै जित निकाल्न सकेको छैन। हङकङसँग चार विकेटले पराजित भएको नामिबियाले युगान्डालाई एक रनको नतिजा सुम्पिएको थियो। युगान्डा र हङकङ समान चार अंकसहित शीर्ष दुईमा रहँदा नामिबिया भने दुई अंकसहित पुछारमा छ।
प्रकाशित: २८ फाल्गुन २०८१ १२:३९ बुधबार