चार देश सहभागी वुमेन्स टी-२० क्वाट्यान्गुलर शृंखला आज (शनिबार) युगान्डामा सुरु हुँदै छ। शृंखलाको उद्घाटन खेलमा नेपालले नामिबियासँग प्रतिस्पर्धा गर्दै छ। खेल युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न ४ः४५ बजे सुरु हुने छ।
पहिलो पटक एसिया महादेश बाहिर खेल्न लागेको नेपाली महिला टोलीका लागि नामिबिया नौलो टोली हो। उसले यसअघि नामिबियासँग कुनै फर्म्याटको खेल खेलेको छैन।
पछिल्ला पाँच खेलमा लगातार हार भोगेको नेपाली टोलीले युगान्डा भ्रमणमा उपाधिको लक्ष्य लिएको छ। नामिबियाले भने पाँचमध्ये एक खेलमा मात्र हार भोगेकाले उच्च मनोबलसहित नेपालविरद्ध मैदान उत्रने छ।
शृंखलामा नेपाल र नामिबियासहित घरेलु टोली युगान्डा र हङकङ छन्। शृंखलामा सबै चार टोलीले एकअर्काविरुद्ध दुई/दुई खेल खेल्ने छन्।
नेपालले नामिबियासँग शनिबार र फागुन २८ गते, युगान्डासँग फागुन २५ र फागुन २९ गते तथा हङकङसँग फागुन २६ र फागुन ३० गते प्रतिस्पर्धा गर्ने छ।
इन्दु बर्माको कप्तानीमा रहेको नेपाली टोलीमा रुबिना क्षेत्री, विन्दु रावल,रिया शर्मा, सम्झना खड्का, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, कविता जोशी, एलिशा कुमारी यादव, रोमा थापा, रचना चौधरी, साना प्रविन र इश्वरी बिष्ट छन्।
प्रकाशित: २४ फाल्गुन २०८१ ०९:०६ शनिबार





