आइसिसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले साउथ अफ्रिकालाई ३६३ रनको विशाल लक्ष्य दिएको छ ।
पाकिस्तानको लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको किविज टोलीले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३६२ रनको विशाल योगफल तयार पारेको हो ।
न्युजिल्यान्डका लागि रचिन रभिन्द्र र केन विलिएम्सनले शतक प्रहार गरे । रचिनले १०१ बलमा १३ चौका र एक छक्काको मद्दतमा १०८ र विलिएम्सनले ९४ बलमा १० चौका र २ छक्काको मद्दतमा १०२ रन बनाए । ड्यारेल मिचेल अर्धशतक बनाउनबाट एक रनले चुक्दा ग्लेन फिलिप्स ४९ रनमा नटआउट रहे ।
४८ रनमा पहिलो विकेट गुमाएको न्युजिल्यान्डका लागि रभिन्द्र र विलिएम्सनले दोस्रो विकेटका लागि १६४ रनको साझेदारी गरे । यो जारी च्याम्पियन्स ट्रफीमा अहिलेसम्मको सबैभन्दा उच्च साझेदारी हो ।
साउथ अफ्रिकाका लागि लुंगी नेग्दीद्ये ३, कागिसो राबाडाले २ तथा वियान मुल्डरले एक विकेट लिए ।
आजको खेलको विजेताले उपाधिका लागि भारतसँग खेल्नेछ । भारत अस्ट्रेलियालाई ४ विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
प्रकाशित: २१ फाल्गुन २०८१ १८:३३ बुधबार