डिजोङ्जी एफसी सिक्किमले नेपाल पुलिस क्लबलाई टाईब्रेकरमा पराजित गर्दै दोस्रो तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
शनिबार सम्पन्न क्वार्टरफाइनल खेलमा निर्धारित समयमा गोलरहित बराबरी भएपछि नतिजा टाईब्रेकरबाट तय भएको थियो।
टाईब्रेकरमा सिक्किमका निमा लेप्चा, आयुभ सुब्बा, जोन लेप्चा र चोपेलले गोल गरे। नेपाल पुलिस क्लबका तर्फबाट कृष्ण गुरुङ र अमित टोमाटाले मात्र गोल गर्न सके भने अनुप लिम्बुको प्रहार बाहिरिएको थियो।
किरण चौधरीको प्रहार सिक्किमका गोलरक्षक प्रनिश क्षेत्रीले रोक्दै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका लागि प्रनिश क्षेत्री ‘म्यान अफ द म्याच’ घोषित भए र नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे।
डिजोङ्जी एफसी सिक्किम अब सोमबार हुने दोस्रो सेमिफाइनलमा मच्छिन्द्र एफसीसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो सेमिफाइनल खेल आइतबार दिउँसो ३ बजे संकटा एफसी र थ्री स्टार क्लबबीच हुने कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिए।
प्रतियोगिताको उपाधि विजेताले ११ लाख ११ हजार १११ रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित सम्मान प्राप्त गर्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी गराए।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा बाणगंगास्थित बुद्ध रंगशालामा फागुन १४ गतेदेखि सञ्चालन भएको गोल्डकपको फाइनल खेल फागुन २१ गते हुनेछ।
प्रकाशित: १७ फाल्गुन २०८१ २०:५६ शनिबार