आइसिसी च्याम्पियन्स ट्रफीमा अफगानिस्तानले इंल्यान्डसामु ३२६ रनको उच्च लक्ष्य प्रस्तुत गरेको छ ।
लाहोरमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै ३२५ रनको योगफल तयार पारेको हो ।
अफगानिस्तानका लागि इब्राहिम जर्दानले १७७ रनको उल्लेख्य पारी खेले । १४६ बलको सामना गरेका उनले १२ चौका र ६ छक्का प्रहार गरे । अज्मतुल्लाह ओमरजाइले ४१ र क्याप्टेन हस्मतुल्लाह शहिदीले ४० रन बनाए । मोहमद नाबीले २४ बलमा ४० रन जोडे ।

३७ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै जर्दानले सहिदीसँग चौथो विकेटका लागि १०३ र ओमरजाईसँग पाँचौ विकेटका लागि ७२ रनको साझेदारी गरे । नाबीसँग जर्दानले ९.१ बलमा १११ रनको साझेदारी गरे ।
जोफ्रा आर्चरले आफ्नो स्पेलमा ६४ रन खर्चेर ३ विकेट लिए । लियाम लिभिङस्टन २ तथा जमी ओभरटन र आदिल रसिदले समान एक विकेट लिए ।
आजको खेलमा पराजित हुने टिम लिग चरणबाटै बाहिरिने छ भने जित्ने टिमले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्नेछ ।
प्रकाशित: १४ फाल्गुन २०८१ १८:३७ बुधबार