बेस्ट ग्रुप भिजनले नवौं अर्किड कप सेभेन ‘ए’ साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ।
काँडाघारीस्थित आयोजक अर्किड प्युपल सेकेन्डरी स्कुलमा सम्पन्न फाइनलमा बेस्ट ग्रुपले हिलारीलाई टाई ब्रेकरमा ३–१ गोलले हराउँदै उपाधि उचालेको हो। निर्धारित ५० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो।
हाइली क्रिएटिभ ग्रिनविच एकेडेमीलाई २–१ गोलले हराउँदै तेस्रो भयो। शीर्ष तीन स्थानका टोलीले क्रमशः ३५ हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाए। चौथो स्थानको ग्रिनविचले १० हजार नगद पुरस्कार प्राप्त गर्यो। प्रतियोगितामा बेस्ट ग्रुपका अभिषेक खड्गी उत्कृष्ट खेलाडी तथा हाइली क्रिएटिभका सिद्धार्थ सुवेदी उदीयमान खेलाडी घोषित भए।
बेस्ट ग्रुपका सुशान्त गुरुङ उत्कृष्ट गोलरक्षक चुनिए। प्रतियोगिताभर १० गोल गरेका हिलारीका प्रीतम यादव सर्वाधिक गोलकर्ता बने। विजेतालाई कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की, एनप्याब्सनका पूर्वकेन्द्रीय उपाध्यक्ष कैलाश कार्की र अर्किडका सञ्चालक प्रेमकुमार भुजेललगायतले पुरस्कृत गरे। फागुन २ गतेदेखि सुरु भएको नकआउट प्रतियोगितामा ४० टिमले प्रतिस्पर्धा गरेका थिए।
प्रकाशित: ११ फाल्गुन २०८१ ०८:१० आइतबार