२३ माघ २०८२ शुक्रबार
image/svg+xml
खेल

कटारी मेयर गोल्डकप: धरानको विजयी सुरुवात

कटारीमा सुरु भएको ‘पाँचौँ मेयर गोल्डकप प्रतियोगिता ०८१’ मा एनएसएफ क्लब धरानले विजयी सुरुवात गरेको छ।

शनिबार भएको उद्घाटन खेलमा घरेलु टोली कटारी ११ लाई १–० गोल अन्तरले पराजित गर्दै धरानले आफ्नो पहिलो जित दर्ता गर्‍यो।

खेलको अन्तिम समयमा धरानका प्रज्वल थापाले निर्णायक गोल गर्दै टिमलाई जित दिलाए। ८१औँ मिनेटमा थापाको प्रहार गोलमा परिणत भएको थियो।

बाँकी समयमा कटारीले गोल फर्काउने प्रयास गरे पनि असफल रह्यो र धरानले १–० को जित सुनिश्चित गर्‍यो।

उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका प्रज्वल थापा म्यान अफ द म्याच घोषित भए। उनलाई इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी कमल बजगाईले नगद ३ हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरे।

खेलको उद्घाटन  कटारीका नगर प्रमुख राजेशचन्द्र श्रेष्ठले गरेका थिए।

आइतबार दोस्रो खेलमा एनजे क्लब सिन्धुली र वीरगञ्ज युनाइटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नगरपालिकाको प्रायोजन र नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा भुटानको समत्से क्लबसहित विभिन्न राष्ट्रिय तथा विभागीय गरी आठ टोलीको सहभागिता रहेको छ।

प्रतियोगिता फागुन १७ गतेसम्म सञ्चालन हुनेछ। अध्यक्ष दीपक राईका अनुसार घरेलु टोली कटारी ११ सहित भुटानको समत्से क्लब, च्याम्पियन ब्वाइज काठमाडौं, एनजे क्लब सिन्धुली, वीरगञ्ज युनाइटेड पर्सा, बागमती एफसी सर्लाही र सहलेश युथ क्लब सिरहाले प्रतिस्पर्धा गर्नेछन्।

टाईगर खेलमैदानमा जारी प्रतियोगिताको तेस्रो दिन, फागुन १२ गते समत्से क्लब भुटान र च्याम्पियन ब्वाइज काठमाडौंबीच प्रतिस्पर्धा हुनेछ। पहिलो चरणको अन्तिम खेल फागुन १३ गते बागमती एफसी सर्लाही र सहलेश युथ क्लब सिरहाबीच हुनेछ।

प्रतियोगिताको सेमिफाइनल खेलहरू फागुन १४ र १५ गते तथा फाइनल खेल फागुन १७ गते हुनेछ।

उपाधि विजेता टिमले ३ लाख रुपैयाँ नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ५० हजार रुपैयाँ नगद, ट्रफी तथा प्रमाणपत्र पाउनेछ। साथै, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ३ हजार रुपैयाँ नगद प्रदान गरिनेछ।

विधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट स्ट्राइकर, अनुशासित खेलाडी र उदीयमान खेलाडीलाई जनही ५ हजार रुपैयाँ नगद, कप तथा प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए।

प्रकाशित: १० फाल्गुन २०८१ २२:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App