२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

गोर्खाली सेभेन्स रग्बी फागुन तेस्रो साता

विदेशी खेलाडीले पनि खेल्ने गोर्खाली सेभेन्स राष्ट्रिय पुरुष रग्बी प्रतियोगिता आगामी फागुनको तेस्रो साता चितवनमा हुने भएको छ।

गोर्खाली रग्बी क्लबको आयोजना तथा नेपाल रग्बी संघको प्राविधिक सहयोगमा आगामी फागुन १६ र १७ गते चितवनको भरतपुरमा गोर्खाली रग्बी सेभेन्स ट्रफी हुन लागेको हो। भरतपुरस्थित कृष्णपुर रंगशालामा प्रतियोगिताका खेलहरू सञ्चालन हुनेछन्। गोर्खाली रग्बी क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दियो।

गोर्खालीले २०७४ सालदेखि संघले आयोजना गरेको विभिन्न राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्दै आएको छ। तर, यसपल्ट आपैmँ व्यवस्थित रूपले प्रतियोगिता सञ्चालन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको गोर्खाली रग्बी क्लबका अध्यक्ष रोहित कार्कीले जानकारी दिए।

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब, एपिएफसहित पाँच प्रदेश र आयोजक गरी कुल आठ टोलीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। नेपाल पुलिस क्लब भने आन्तरिक कारणले सहभागी नभएको आयोजक गोर्खाली क्लबका सचिव प्रेमबहादुर कोइरालाले बताए।

कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदको तयारी गर्ने उद्देश्यअनुरूप यो प्रतियोगिता सञ्चालन गरिएको नेपाली राष्ट्रिय पुरुष रग्बी टोलीका पूर्वकप्तान तथा क्लबका उपाध्यक्ष कृष्ण थापा क्षेत्रीले उल्लेख गरेका छन्। यस प्रतियोगितामा सहभागी हरेक टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान छ।

आयोजक गोर्खालीबाट तीन जना विदेशी खेलाडी खेल्ने तय भएको छ। विजेताले दुई लाख तथा उपविजेताले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले भर्दना काउचरबाट एक सेट इटालियन सुट पाउने आयोजकले उल्लेख गरेको छ।

खेल सञ्चालन गर्नका लागि विदेशी रेफ्रीलाई भिœयाउने तयारी पनि भैरहेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ। दोस्रो संस्करणदेखि विदेशी क्लबलाई पनि भिœयाउने आयोजकले जनाएको छ। यसपल्ट अन्तिम समयमा तयारी गरेकाले विदेशी क्लब आउन नसकेको उनको भनाइ छ।

आयोजकले पहिलोपल्ट रग्बीमा ठूलो धनराशिको प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ। प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्, भरतपुर महानगरपालिका, प्रदेश खेलकुद विकाश परिषद् बागमती, चितवन मेडिकल कलेज, होलिडे ट्रिप नेपाल प्रालीलगायतको सहयोग रहनेछ।

गोर्खाली क्लबबाट हालसम्म सेभेन्स र फिफ्टिन ‘ए’ साइडमा गरी कुल १२ खेलाडीले राष्ट्रिय टोलीमा स्थान बनाएको आयोजकले जनाएको छ। गोर्खाली क्लबले कर्णाली प्रदेशका विभिन्न स्थानमा स्वयम्सेवक प्रशिक्षक पठाएर त्यहाँ विभिन्न उमेरसमूहका खेलाडी उत्पादन गरेको उल्लेख गरेको छ। त्यसका लागि कर्णाली प्रदेशसँग दुई वर्षको सहकार्यका लागि सम्झौता पनि गरिसकेको छ। 

प्रकाशित: १० फाल्गुन २०८१ ०८:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App