७ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

नेताहरूमाथिको कारबाहीले नेकपा कार्यकर्तामा निराशा

फागुन २१ को निर्वाचन नजिक आइरहेका बेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक द्वन्द्व चर्किएको छ। उम्मेदवार चयनको विषय साम्य नहुँदा पार्टी नेतृत्वले नेताहरूलाई कारबाही प्रक्रिया सुरु गरेपछि आन्तरिक द्वन्द्व चर्र्किएको हो। तत्कालीन माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबिच एकता हुँदा पार्टीको जिम्मेवारी हेरफेर, कार्यविभाजन तथा उम्मेदवारी चयनमा उत्पन्न विवाद साम्य नहुँदा द्वन्द्व बढ्दै गएको हो।

सिन्धुलीको विवादले देशभरि नै पार्टीमा संकट निम्त्याएको मात्र छैन, कार्यकर्ताहरूमा चरम निराशासमेत जन्माएको छ। निर्वाचनको सम्मुखमा नेकपाले एकै पटक सात जनालाई निष्कासन गर्दा विपक्षीहरूलाई फाइदा पुग्ने आकलन गरिएको छ। सिन्धुलीका नेता हरिबोल गजुरेललाई नेकपाले कारबाही गरेको छ। पार्टीले कारबाहीको सूचना जारी गरेपछि उनले सबैभन्दा पहिला पार्टी संयोजक पुष्पकमल दाहालमाथि नै कारबाही हुनुपर्ने प्रतिक्रिया दिएका थिए। गजुरेलले पार्टीको विधि, पद्धति र प्रक्रिया मिच्ने मुख्य व्यक्ति संयोजक दाहाल भएका जिकिर गर्दै उनीमाथि नै कारबाही हुनुपर्ने बताएका थिए।

पार्टीको आधिकारिक लाइनविपरीत प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएको र प्रस्ताव तथा समर्थक बसेको भन्दै नेकपाले गत साता गजुरेलसहित सात नेतालाई निष्कासनको घोषणा गरेको थियो। सिन्धुली जिल्ला पार्टीको सिफारिस र निर्णयलाई लत्याएर दाहालले मनोमानी, अहंकारवादी र व्यक्तिवादी ढंगले उम्मेदवारको निर्णय गरेको दाबी गजुरेलको थियो। नेकपाभित्र प्रभावशाली मानिएका पूर्वमन्त्री गजुरेलसहित सात जनालाई पार्टीबाट निष्कासन गर्दा सिन्धुलीमा पार्टीलाई घाटा पर्ने अवस्था आएको बताइएको छ। नेकपाले हरिबोल गजुरेल (सिन्धुली), महेश्वर दाहाल (सिन्धुली), कुलप्रसाद केसी (दाङ), मेजर राई (उदयपुर), धर्मनाथ साह (सिरहा), राजकुमारी साह (सिरहा) र जिवछ साह (सिरहा) लाई अनुशासनको कारबाही गर्दै पार्टीबाट निकालेको थियो।

कारबाहीमा परेकामध्ये धर्मनाथ साह एमालेको टिकट लिएर चुनावमा होमिएका छन्। महेश्वर दाहाल सिन्धुलीबाट विद्रोही उम्मेदवार छन्। महेश्वर नेकपाका आधिकारिक उम्मेदवार राजन दाहालविरुद्ध विद्रोही बनेका हुन्। लुम्बिनी प्रदेशका पूर्वमूख्यमन्त्रीसमेत रहेका कुलप्रसाद केसीलाई उम्मेदवारी फिर्ता लिन र पार्टीका आधिकारिक उम्मेदवारलाई समर्थन गर्न भनिएको थियो। नमानेपछि उनलाई पार्टीले निष्कासन गरिदिएको हो। उनी पार्टीबाट टिकटका आकांक्षी थिए। पार्टीले टिकट नदिएपछि असन्तुष्ट बनेका केसी स्वतन्त्र उम्मेदवार बनेका हुन्। दाङ–१ मा नेकपाका आधिकारिक उम्मेदवार मेटमणि चौधरी छन्। पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेका कारण अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको नेकपाले जनाएको छ।

नेकपाका संयोजक दाहाल र सहसंयोजक माधवकुमार नेपालको संयुक्त हस्ताक्षरमा विज्ञप्ति जारी गर्दै नेताहरूलाई निष्कासन गर्न थालिएको छ। ‘आगामी फागुन २१ गते हुन गइरहेको आम निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट आधिकारिक उम्मेदवार रहेको निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका र त्यस्ता उम्मेदवारका प्रस्तावक, समर्थक तथा प्रचारक बनेकाले विधानको दफा १०६ बमोजिम अनुशासनको कारबाही गर्दै पार्टीबाट निष्कासन गरिएको हो,’ संयोजक र सहसंयोजकको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तिमा भनिएको छ। हरिबोल गजुरेलका हकमा नेकपाका संयोजक दाहालले पार्टी हितविपरीत लागेका कारण कारबाही गर्नुपरेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएका थिए। ‘हरिबोलजीलाई नै चुनाव उठ्नुस् भनेको थिएँ, उहाँले मान्नुभएन। उहाँले नमानेपछि राजनजी (लेखनाथ दाहाल) लाई टिकट दिइएको हो। राजनजीका पनि कमीकमजोरी भए माफी माग्नुस् भनेर सिन्धुलीका सबै साथीलाई काठमाडौ बोलाइयो तर उहाँहरू मान्नुभएन। उम्मेदवारी कायम राख्नुभयो। त्यसकारण कारबाही गर्नुपर्ने अवस्था आइलाग्यो,’ संयोजक दाहालले यस्तो भनेका थिए।

यसक्रममा नेकपाले कर्णालीका पूर्वमुख्यमन्त्री राजकुमार शर्मामाथि कारबाही प्रक्रिया अघि बढाएको छ। प्रदेशसभा सदस्य शर्मा जनार्दन शर्मा नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा संलग्न भएपछि नेकपाले उनलाई सांसद पदबाट हटाउन लागेको हो। माघ २२ गते शर्मालाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न पत्र पठाइएको थियो। उनले अहिलेसम्म स्पष्टीकरण दिएका छैनन्। उनलाई पार्टी सदस्य र संसदीय दलको सदस्यबाट किन नहटाउने भनी स्पष्टीकरण मागिएको थियो। शर्मा तत्कालीन माओवादी केन्द्रबाट रुकुम पश्चिममा प्रदेशसभा सदस्य निर्वाचित भएका थिए।

यसैगरी निर्वाचनको सम्मुखमा नेकपाका केन्द्रीय सदस्य दीपक जंगम शर्माले पार्टी परित्याग गरेका छन्। पार्टीभित्र गुटबन्दी, अपारदर्शी निर्णय प्रक्रिया र विधिविधानविपरीत गतिविधि बढ्दै गएको भन्दै उनले पार्टीको केन्द्रीय सदस्य मात्र नभएर साधारण सदस्यतासमेत त्यागेका हुन्। शर्माले समानुपातिक उम्मेदवार सिफारिस प्रक्रियामा आफूलाई अन्याय गरिएको उल्लेख गर्दै पार्टी त्यागेका हुन्। निर्वाचन आयोगबाट प्रकाशित समानुपातिक उम्मेदवारको सूचीमा आफ्नो नाम समावेश नहुनु पार्टी केन्द्रको गलत निर्णय भएको उनको भनाइ छ। शर्माले पार्टी जनताको भावना, मूल्य, मान्यता र सिद्धान्तबाट विचलित हुँदै गएको तथा गुटउपगुटका कारण संगठन कमजोर बन्दै गएको जनाएका छन्। पार्टीभित्र रहँदा आत्मसम्मान र राजनीतिक नैतिकता जोगाउन कठिन भएको भन्दै राजीनामा दिएको उनले बताएका छन्।

प्रकाशित: २५ माघ २०८२ २१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App