पोखरामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भिडन्त शनिबार हुँदैछ ।
सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा जारी आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २४औं संस्करणको उपाधि भिडन्तमा नेपाल पुलिस क्लव र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लव आमनेसामने हुँदैछन् । दुबै टिमका लागि यो इतिहास रच्ने अवसर हुनेछ ।
पुलिस क्लव आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सर्वाधिक ६ पटकको उपाधि विजेता हो । पुलिससँगै मनाङ मर्स्याङ्दी क्लवपनि समान ६ पटक नै उपाधि विजेता हो । तर शनिबार उपाधि जिते पुलिस सर्वाधिक सात पटक उपाधि जित्ने इतिहास बनाउन सफल हुनेछ ।
अर्कोतर्फ पहिलो पटकको सहभागितामै फाईनल पुगेको उज्वेकिस्तानको ब्ल्याक बुल्सलाई पनि पहिलो सहभागितामै उपाधि जितेर इतिहास रच्ने अवसर छ ।
पुलिस प्रि–क्वाटरफाइनलमा आयोजक सहारा क्लव पोखरालाई १–०, क्वाटरफाइनलमा ब्रिगेड ब्वाईज क्लव युकेलाई २–० र सेमिफाइनलमा चर्च ब्वाईज युनाईटेड क्लवलाई १–० गोल अन्तरले हराउँदै फाईनलमा प्रवेश गरेको हो । बाई पाएर सिधै क्वाटरफाइनलमा स्थान बनाएको अर्को फाईनलिष्ट ब्ल्याक बुल्सले भारत सिक्किमको थन्डरबोल्ट नर्थ युनाईटेडलाई ३–० र सेमिफाइनलमा ५ पटकको उपाधि बिजेता थ्रीस्टार क्लवलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
उपाधि नजिक पुगेका दुबै टोली लयमा देखिएका छन् । फाइनल यात्रासम्मको खेल हेर्दा दुबैले निर्धारित समयमै नतिजा आफ्नो पक्षमा पारेका छन् । ब्ल्याक बुल्स उत्कृष्ट लयमा छ । प्राविधिक र योजनावद्धरुपमा खेल्न सक्ने ब्ल्याक बुल्स पुलिसभन्दा बलियो मानिएको छ । उसको फिनिसिङ र स्कोरिङ राम्रो छ । त्यसलाई कायम राख्नसके ब्ल्याक बुल्सको पक्षमा नतिजा जाने सम्भावना छ । तर नौलो मैदान र दर्शकको साथ नपाउँदा उसलाई मनोवैज्ञानिक असर पर्नसक्छ ।
ब्ल्याक बुल्सका प्रशिक्षक अब्दुलाजितले शुक्रबार आयोजित प्रि–म्याच कन्फरेन्समा बोल्दै आफूहरु फाइनलका लागि तयार रहेको बताए । हामी सम्पूर्ण रुपमा उपाधि जित्नकै लागि आएका हौं,उनले भने, ‘फाइनल खेल हो । जित दुबै टिमको लक्ष्य हो । यसमा समान ५०–५० प्रतिशत हुन्छ । हामी जित्नेगरी नै खेल्छौं ।’ उनले प्रतिद्वन्द्वी पुलिसको टिममा स्टार खेलाडी नभएपनि टिम स्पिरिट र फाष्ट गेम प्रशंसायोग्य रहेको बताए ।
ब्ल्याक बुल्सका कप्तान जाखिनगिर अख्मादोभले फाइनल भिडन्तका लागि आफूहरु मानसिक रुपमा तयार रहेको बताए । उनले भने, ‘हामी उच्च मनोबलका साथ खेलिरहेका छौं । पहिलो भन्दा दोस्रो खेल झनै राम्रो भयो, त्यसैले आशा छ फाइनलमा पनि यसले निरन्तरता पाउँछ ।’
पुलिसका प्रशिक्षक चेतन घिमिरेले सातौं पटक उपाधि जितेर ईतिहास रच्न आफूहरु आतुर रहेको बताए । हामी लयमा छौं, उनले भने, ‘हामीसँग स्टार खेलाडीको कमी छ । तर नयाँ खेलाडीमा युवा जोश र आत्मविश्वास भएकाले उपाधि जित्छौं भन्नेमा ढुक्क छौं ।’
पुलिसका कप्तान राम वाजीले आफूहरुमा जित्नैपर्छ भन्ने हुटहुटी रहेको बताए । स्टार खेलाडी नहुँदा मनोवैज्ञानिक असर होला, उनले भने, ‘तर हामी जितेर ईतिहार रच्न चाहन्छौं । त्यो हुटहुटी र युवा जोश हामीसँग छ ।
प्रकाशित: २ फाल्गुन २०८१ १७:५२ शुक्रबार