उदयपुरको चौदण्डीगढी नगरपालिका-४, बसाहामा सम्पन्न ‘१० औं नारद मुनि थुलुङ राई स्मृति गोल्डकप प्रतियोगिता ०८१’ को उपाधि सिराहाको सलेश फुटबल क्लबले जितेको छ।
मङ्गलबार सम्पन्न फाइनल खेलमा सलेशले झापा ११ लाई २–१ गोलको अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो।
खेलको पहिलो हाफमै दुई गोल गर्दै सलेशले बलियो अग्रता लिएको थियो। टिमका १७ नम्बर जर्सीधारी मिलन राईले खेलको ३४ औँ मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएका थिए।
त्यसपछि ३६ औँ मिनेटमा पाएको पेनाल्टी सुटआउटको अवसरलाई उनले सदुपयोग गर्दै दोस्रो गोल गरे। लगातारको दबाबका बीच सलेशले पहिलो हाफमा दुई गोल गर्दै आफ्नो पकड बलियो बनाएको थियो।
दोस्रो हाफमा झापा ११ आक्रामक खेल शैलीमा प्रस्तुत भयो। लगातार आक्रमण गर्दै उनीहरूले गोल फर्काउने प्रयास गरे। खेलको ३६ औँ मिनेटमा झापाका राजेश दाहालले एक गोल फर्काए, जसले खेललाई थप प्रतिस्पर्धात्मक बनायो। तर, बाँकी समयमा झापा ११ ले थप गोल गर्न सकेन, जसका कारण उनीहरू उपविजेतामै सीमित भए।
फाइनल खेलपछि आयोजित पुरस्कार वितरण समारोहमा प्रदेश सामाजिक विकास मन्त्री पाँचकर्ण राई, सङ्गीतकार बुलु मुकारुङ र चौदण्डीगढी नगरप्रमुख कालुमान लामाले विजेता टिमलाई नगद ५ लाख रुपैयाँ, गोल्डकप र प्रमाणपत्र प्रदान गरे। उपविजेता झापा ११ ले नगद २ लाख ५० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्यो।
प्रतियोगिताका व्यक्तिगत विधागत पुरस्कारहरू पनि घोषित गरिए। उत्कृष्ट गोलरक्षकको उपाधि सलेशका विशाल सुनारले प्राप्त गरे भने उत्कृष्ट डिफेन्डर झापाका सुमन मगर बने।
झापाकै निकेश श्रेष्ठ उत्कृष्ट मिडफिल्डर घोषित भए भने आयोजक टोली बसाहाका दिपेश तामाङ उदीयमान खेलाडी बने। प्रतियोगिताको बेस्ट प्लेयर अफ द टुर्नामेन्टको उपाधि सलेशका अमन लामाले प्राप्त गरे।
खेल अवधिभर सबैभन्दा धेरै गोल गरेका सलेशका मिलन राई म्यान अफ द म्याच र हाई स्कोरर दुवै घोषित भए। विजेताहरूलाई नगद राशी, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।
प्रकाशित: २२ माघ २०८१ २०:२४ मंगलबार