२९ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

केपिलासगढी राष्ट्रपति रनिङ शिल्डमा पृथ्वी माविको ‘ह्याट्रिक’

खोटाङको केपिलासगढी गाउँपालिकामा सम्पन्न ‘अन्तर माध्यमिक विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्ड ०८१’ स्थानीय पृथ्वी माध्यमिक विद्यालय, बाक्शीलाले जितेको छ।

पृथ्वी माविले २६ स्वर्ण, २१ रजत र २५ कास्य पदक जित्दै प्रतियोगिताको शिल्ड पक्का गरेको हो।

गाउँपालिकाको युवा तथा खेलकुद विकास समितिका अनुसार यसअघि दुईपटक जितिसकेको पृथ्वी माविले पाँचौँ संस्करणमा ‘ह्याट्रिक’ गर्दै शिल्ड स्थायी रूपमा पाउने अवसर प्राप्त गरेको छ।

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशिका २०७० (पाँचौँ संशोधन, २०८०) अनुसार लगातार तीनपटक जित्ने विद्यालयले शिल्ड स्थायी रूपमा राख्न पाउने प्रावधान रहेको छ।

गत ११ गते उद्घाटन भई चार दिनसम्म चलेको प्रतियोगितामा पृथ्वी माविले सितोरियो कराँते, तेक्वान्दो लगायत विभिन्न इभेन्टमा सर्वाधिक पदक जित्दै शिल्ड पक्का गरेको हो।

प्रतियोगितामा शुक्रजित माविले ८ स्वर्ण, ३ रजत र १ कास्य पदक जित्दै उपविजेता बन्यो भने जालपा मावि ३ स्वर्ण, ६ रजत र १ कास्य पदकसहित तेस्रो स्थानमा रह्यो।

एथलेटिक्सतर्फ जालपा माविकी अस्मिता खत्री र शुक्रजित माविका सन्देश विश्वकर्मा उत्कृष्ट घोषित भए। भलिबलतर्फ शुक्रजित माविकी दिविशा राई तथा कुहुडाँडा माविका निशान राई उत्कृष्ट खेलाडी घोषित भए।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ५० हजार, ४५ हजार र ४० हजार नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ।

समापन कार्यक्रममा विजयी विद्यालय तथा खेलाडीलाई गाउँपालिका अध्यक्ष समिर राई, उपाध्यक्ष गुरुराज राई र प्रमुख प्रशासकीय अधिकृत सौधन राईले शिल्ड, नगद, ट्रफी तथा प्रमाणपत्र वितरण गरे।

गाउँपालिकाभित्रका ९ वटा माध्यमिक विद्यालय सहभागी रहेको प्रतियोगितामा खेलाडीका लागि खानासँगै यातायात खर्च दूरीको आधारमा क्रमशः ३५ हजार, ३० हजार र २५ हजार व्यवस्था गरिएको आयोजकले जनाएको छ।

गाउँपालिकाले विनियोजन गरेको १० लाखको बजेटबाट प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको प्रमुख प्रशासकीय अधिकृत सौधन राईले जानकारी दिए।

प्रतियोगिताका विजेताहरू जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा प्रतिस्पर्धा गर्न योग्य भएका छन्। स्थानीय तहस्तरीय प्रतियोगिता सकिएपछि नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिनेछ।

खोटाङ जिल्लाका दुई नगरपालिकासहित दश स्थानीय तहहरूमध्ये अधिकांशले पालिकास्तरीय प्रतियोगिता सम्पन्न गरिसकेको गाउँपालिकाले जनाएको छ।

प्रकाशित: १६ माघ २०८१ १९:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App