२१ पुस २०८२ सोमबार
image/svg+xml
खेल

दिक्तेलको ‘राष्ट्रपति रनिङ शिल्ड’ दिक्तेल बोर्डिङलाई

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सम्पन्न ‘अन्तर माध्यमिक विद्यालयस्तरीय तेस्रो राष्ट्रपति रनिङ शिल्ड ०८१’ को उपाधि दिक्तेल ईङ्लिस बोर्डिङ स्कूलले हात पारेको छ।

पाँच दिनसम्म चलेको प्रतियोगितामा दिक्तेल बोर्डिङले १८ स्वर्ण, १८ रजत र १९ काश्य पदक जित्दै समग्र उपाधि आफ्नो बनाएको हो।

नगर क्षेत्रका सामुदायिक तथा संस्थागत २४ विद्यालय सहभागी प्रतियोगिता सदरमुकाम दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा सम्पन्न भएको थियो।

सरस्वती मावि, दिक्तेल १० स्वर्ण, १० रजत र ११ काश्य पदकसहित दोस्रो भयो भने जनजागृति आवासीय विद्यालय, सोल्माले ९ स्वर्ण, ६ रजत र ५ काश्य पदक जित्दै तेस्रो स्थान हासिल गर्‍यो।

श्रीमावि बाँसबोटे लफ्याङले ५ स्वर्ण, ४ रजत र २ काश्य पदकसहित चौथो स्थान प्राप्त गर्‍यो भने दिक्तेलकै माउन्ट एभरेस्ट बोर्डिङले ३ स्वर्ण, १ रजत र ७ काश्य पदक जित्दै पाँचौँ स्थानमा रह्यो।

प्रतियोगितामा पुरुष- महिला भलिबल, कबड्डी, सितोरियो कराँते, तेक्वान्दो र एथलेटिक्स गरी पाँच विधाका ४९ इभेन्टमा खेलाडीहरूबीच प्रतिस्पर्धा भएको आयोजक नगर खेलकुद विकास समिति, दिक्तेलले जनाएको छ।

नगरपालिकाको प्रायोजनमा खेलकुद विकास समितिको आयोजनामा तथा जनजागृति आवासीय मावि, सोल्माको संयोजनमा सम्पन्न प्रतियोगितामा ५४ स्वर्ण, ५४ रजत र ७८ काश्य पदकका लागि भिडन्त भएको थियो।

खेल संयोजक तथा जनजागृति मावि, सोल्माका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सूर्यबहादुर राईका अनुसार प्रतियोगितामा नगरभरका २४ विद्यालयका ६३२ जना छात्रछात्राको सहभागिता थियो।

प्रतियोगिताको समापन समारोहमा जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राई, नगरप्रमुख तीर्थराज भट्टराई, उपप्रमुख बिसन राई, प्रमुख प्रशासकीय अधिकृत दिनेश राई लगायतका अतिथिहरूले विजयी विद्यालय र खेलाडीहरूलाई शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरे।

उपाधि विजेता दिक्तेल ईङ्लिस बोर्डिङले रनिङ शिल्डसहित नगद २१ हजार १ सय ११ रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो। उपविजेता तथा विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

नगरपालिकाको १० लाख सहयोगमा सम्पन्न प्रतियोगितामा सहभागी सबै विद्यालयलाई खेल सामग्री तथा यातायात खर्च आयोजकले व्यहोरेको खेलकुद विकास समितिले जनाएको छ।

राष्ट्रपति रनिङ शिल्डमा विजयी विद्यार्थीले अब नवौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन्।

जिल्लास्तरीय प्रतियोगिताका विजयी विद्यार्थीहरू प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड हुँदै १५औँ राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउनेछन्।

प्रकाशित: १६ माघ २०८१ १६:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App