९ माघ २०८१ बुधबार
image/svg+xml
खेल

यू-१९ महिला विश्वकप क्रिकेट : नेपाल समूह चरणमा अंकविहीन

अस्ट्रेलियासँग ८३ रनले पराजित

यू-१९ महिला विश्वकप क्रिकेटको समूह चरणमा नेपाल अंकविहीन भएको छ। लिग चरणको आफ्नो अन्तिम खेलमा बुधबार अस्ट्रेलियासँग ८३ रनले पराजित भएपछि नेपालले समूह चरणका तीनै खेलमा हार भोगेको हो । योसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ । नेपाल यसअघि बंगलादेश र स्कटल्यान्डसँग पराजित भएको थियो ।  

मलेसियाको युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाले दिएको १४० रनको उच्च लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर ५६ रनमात्र बनाउन सक्यो ।  

ओपनरद्वय साना प्रविन र सावित्री धामीले दोहोरो अंकका स्कोर गर्न सकेनन् । ११औं ओभरमा २८ रन जोड्दा तीन विकेट गुमाएको स्थिति सम्हाल्दै क्याप्टेन पूजा महतो र सिमाना केसीले चौथो विकेटका लागि १५ रनको साझेदारी गरेपनि जितका लागि पर्याप्त हुन सकेन । पूजाले १८ रन बनाउनु बाहेक अन्य कुनै ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् । 

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको अस्ट्रेलियाले निर्धारित ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

१४ रन जोड्दा ३ विकेट गुमाएको स्थिति सम्हाल्दै केमी ब्रे र लियोनर लारोसाले चौथो विकेटका लागि ७२ रनको साझेदारी गरे । केमी ४५ रनमा रिया शर्माको बलमा सिमाना केसीद्वारा क्याच आउट भइन् । लियोनरले ३१ रन बनाइन् भने हसरत गिल ३० र क्लोइ एन्सवर्थ १६ रनमा नटआउट रहे ।  

नेपालका लागि क्याप्टेन पूजा महतोले ३ विकेट लिइन् । सिमाना केसीले दुई र रिया शर्माले एक विकेट लिइन् ।  

समूह डीबाट अस्ट्रेलिया विजेता र बंगलादेश उपविजेता बन्दै सुपर सिक्समा प्रवेश गरेका छन् । अस्ट्रेलियाको ६ र बंगलादेशको ४ अंक रह्यो । २ अंक भएको स्कटल्यान्ड पनि सुपर सिक्सका लागि छनोट भएको छ । 

शुक्रवार हुने प्लेअफ खेलमा नेपालले समूह ए को चौथो हुने टोलीसँग खेल्नेछ । बिहीवार मलेसिया र वेस्ट इण्डिजबीचको खेलबाट नेपालको प्रतिद्वन्दी तय हुनेछ ।

प्रकाशित: ९ माघ २०८१ १५:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App