खोटाङको प्रसिद्ध त्रिधार्मिकस्थल हलेसी दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा परेका तीर्थयात्रीको अवस्था हाल सामान्य रहेको प्रहरीले जनाएको छ।
मङ्गलबार दिउँसो हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडास्थित लाकुरीभञ्ज्याङमा ना १ ज ८७८१ नम्बरको सुमो जीप दुर्घटना हुँदा एक भुटानी नागरिकसहित तीन जना घाइते भएका थिए।
दुर्घटनामा भुटानको राजधानी थिम्पुका ७२ वर्षीय कार्दुङ, डोटीको पूर्वीचौकी गाउँपालिका-४ का ३५ वर्षीय लोकराज जोशी र गोरखाको चुमनुब्री गाउँपालिका-८ का ५८ वर्षीय लोप्साङ लामा घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रकाश बुढाथोकीका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको र उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत हलेसी मन्दिरबाट करिब ९ किलोमिटर पश्चिममा पर्ने दुर्घटनास्थलबाट प्रहरीले घाइतेहरूको तत्काल उद्धार गरेको थियो।
उनीहरूलाई नजिकैको घुर्मीस्थित जनसेवा क्लिनिकमा प्राथमिक उपचार गरेपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको डिएसपी बुढाथोकीले जानकारी दिए।
उपचारमा संलग्न स्वास्थ्यकर्मीका अनुसार भुटानी नागरिक कार्दुङको टाउकोमा सामान्य चोट लागेको छ भने जोशीको काँधमा भित्री चोट देखिएको छ।
प्रहरीका अनुसार चिसोका कारण सडकमा जमेको तुसारोले बाटो चिप्लो हुँदा जीप अनियन्त्रित भई भित्तामा ठोक्किएको थियो। ‘सडक चिप्लो भएकाले जीप अनियन्त्रित भई भित्तामा जोतिन पुगेको देखिन्छ’ डिएसपी बुढाथोकीले बताए ।
जीपमा चालकसहित कूल ७ जना सवार थिए। अन्य ४ जना यात्रु भने सकुशल रहेका छन्। प्रहरीले सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का ३७ वर्षीय चालक बुद्धमान श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय च्यास्मिटारको नियन्त्रणमा राखिएको छ।
दुर्घटनाका कारण केही समय अवरुद्ध बनेको मध्यपहाडी लोकमार्ग प्रहरीको सक्रियतामा करिब दुई घण्टापछि सुचारु भएको छ। दुर्घटनाग्रस्त जीपलाई सडकको किनारामा सारेपछि यातायात आवागमन पुनः नियमित भएको प्रहरीले जनाएको छ।
प्रकाशित: २० माघ २०८२ २१:२२ मंगलबार





