१ माघ २०८१ मंगलबार
image/svg+xml
खेल

आर्मीकी ‘गेम चेन्जर’ विमला

विभागीय टोली त्रिभुवन आर्मी क्लबले सोमबार एन्फा महिला लिगमा बागमती युथ क्लबमाथि ह्याट्रिक जित निकाल्यो। तर, यसका लागि आर्मीले मैदानमा निकै संघर्ष गर्नुपर्‍यो। त्यही संघर्षको प्रतिफलसँगै आर्मी सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल राउन्डको दोस्रो लेगमा बागमतीमाथि ३–० को जित निकाल्न सफल रह्यो।

जितसँगै अंकतालिकाको दोस्रो स्थानमा रहेको आर्मीले पाँच खेलबाट १० अंक पुर्‍याएको छ। एक खेल कम खेलेको अर्को विभागीय टोली नेपाल पुलिससँग आर्मीले तीन अंकको दूरी कायम गरेको छ। तर, साबिक विजेता एपिएफ क्लबसँग भने अझै दुई अंकले पछि छ। आर्मीले तीनपल्टकै भेटमा बागमतीमाथि शतप्रतिशत जित निकालेको छ। तर, ती सबै भेटमा आर्मीका लागि एकै खेलाडी ‘गेम चेन्जर’ बनिन्, विंगर विमला चौधरी। उपाधिकाे बलियो प्रत्याशी मानिएको आर्मीले बागमतीविरुद्धको अन्तिम खेलको छैटौं मिनेटमै सुरुआती अग्रता लिएको थियो। 

विमलाले ‘फार इन्ड’ बाट डी बक्सभित्र दिएको क्रसमा सपना लामाले फ्री हेडरमार्फत आर्मीलाई पहिलो ‘ब्रेक थ्रु’ दिलाइन्। यी दुई विपक्षीलाई रोक्न बागमतीका कुनै डिफेन्डरले आवश्यक नै ठानेनन्। हुन त विमलाले बागमतीको बलियो डिफेन्स तोडेको यो नै पहिलोपल्ट भने होइन। पहिलो राउन्डमा ३–० को जित निकाल्दा पनि उनले नै पहिलो गोल गरेकी थिइन्। फाइनल राउन्डको पहिलो लेगमा पनि उनी नै बागमतीका लागि एकपटक खलनायक बनिन्। त्यो खेलमा पनि आर्मीले बागमतीविरुद्ध जित निकाल्न निकै ठूलो संघर्ष गर्नुपरेको थियो। तर, विमलाले गरेको दुई गोल नै जितमा पर्याप्त बन्यो।

खेलको सुरुआती समयमै अग्रता लिएपछि आर्मीले ठूलो अन्तरले जित्ने संकेत देखाएको थियो। तर, बागमतीको डिफेन्ससामु आर्मीका खेलाडीले तोड निकाल्न सकेनन्। त्यसैले पहिलो लेगमा झैं आर्मीलाई दोस्रो गोल थप्न समय खर्च गर्न प यो। यसपल्टको गोलमा पनि विमलाले नै महत्वपूर्ण भूमिका निर्वाह गरिन्। उनले निकाल्दिएको थ्रु बललाई चन्द्रा भण्डारीले बक्सभित्रबाट कट ब्याक दिएकी थिइन्। उक्त बललाई अनमार्क पुनम जर्घामगरले २२औं मिनेटमा जाली चुमाइन्।

त्यसपछि भने आर्मीको अर्को अवसरलाई ३४औं मिनेटमा बागमतीकी गोलकिपर सुजाता तामाङले विफल बनाइन्। डी बक्सभित्र आएको बल रोक्न क्रममा दिव्या इस्माली मगरले दीपा राईलाई हलुका छोएकी थिइन्। तर, दीपा ढलेसँगै मुख्य रेफ्री नवीन्द्र महर्जनले पेनाल्टी दिन कुनै आनाकानी नै गरेनन्। तर, विमलाको प्रहारलाई उमेरसमूहको राष्ट्रिय टोलीबाट खेल्दै आएकी सुजाताले सहजै ड्राइभ गर्दै बचाइन्। 

यससँगै बागमतीविरुद्ध विमला आफ्नो चौथो गोल गर्न चुकिन्। पहिलो राउन्डदेखि नै विमला आर्मीकी ‘गोल मेसिन’ हुन्। उनले उक्त राउन्डमा नौ गोल गरेकी थिइन्। त्यो सिलसिला दोस्रो राउन्डमा पनि कायम राख्न उनी सफल भएकी छन्। उनले यसपल्ट पनि ६ गोल थपिसकेकी छन्। तर, राष्ट्रिय टोलीमा समेत अटाइसकेकी उनले सुजातालाई छक्काउन भने सकिनन्। त्यसपछि खेलको एक घण्टाजति लामो समयमा खर्चिए पनि दुवै टोलीबाट कुनै लोभलाग्दो अवसर नै सिर्जना हुन सकेन।

इन्जुरी समयमा आर्मीले खेल रोचक बनायो। हिमा चौधरीको प्रहार क्रस बारमा लागेर फर्कियो। त्यो बललाई बक्सको ‘एज’ मा रहेकी दीपाले प्रहार गरे पनि फ्रेमबाट निकै बाहिर रह्यो। अर्को मिनेटमै सेमिहाङमा लिम्बूले रिलिज गर्न लागेको बल आर्मीकी दीपाको खुट्टैमा पुग्यो। सन्जु कुमालले उनीसँग तालमेल मिलाउँदै विमलालाई दिएको बलसँगै आर्मीले अर्को गोल थप्न सफल भयो। यसपल्ट पनि विमलाले लेफ्ट साइडबाट दिएको बललाई चन्द्राले टच दिँदै गोलमा परिणत गरिन्। विमलाको पेसलाई लेफ्ट साइडबाट रोक्न बागमतीका कुनै डिफेन्डरले साहसै देखाएनन्। त्यसैले उनले लगातार अवसर बुनिरहिन्। यही सफलताले उनी सोमबार पनि ‘प्लेयर अफ द म्याच’ रहन सफल बनिन्।

प्रकाशित: १ माघ २०८१ १०:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App