२ माघ २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्चाइज लिगको रौनकता फेरि

नेपाल कबड्डी लिग (एनकेएल) नजिकिँदै गर्दा नेपाली खेलकुदमा फ्रेन्चाइज लिगको रौनकता फेरि सुरु भएको छ। आगामी शुक्रबारदेखि चर्चित खेलाडी सम्मिलित कबड्डी लिग नेपालमा पहिलोपल्ट सुरु हुँदै छ। 

पछिल्ला समय महिला भलिबल र क्रिकेटको फ्रेन्चाइज लिग सम्पन्न भएको छ भने फुटबलको नेपाल सुपर लिग (एनएसएल) पनि चैतमा मिति तय भइसकेको छ। यससँगै कबड्डीले पनि आफ्नो तयारी तीव्रता दिइरहँदा नेपालमा फ्रेन्चाइज लिगको रौनकता बढेको हो। खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ। आगामी माघ ४ गतेदेखि हुने एनकेएलमा ६ सहरका ६ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन्।

विराटनगर ब्यान्डिट्स, जनकपुर नाइट्स, काठमान्डु माभरिक्स, पोखरा लेकर्स, हिमालयन रेइडर्स र धनगढी वाइल्डक्याट्सले एनकेएलमा प्रतिस्पर्धा गर्दै छन्। यीमध्ये सबै टोलीले विदेशी खेलाडी अनुबन्धित गरिसकेका छन्। थाइल्यान्ड र बंगलादेशका समान ६ तथा केन्या र श्रीलंकाका समान तीन गरी कुल १८ विदेशी खेलाडीले पहिलो संस्करणको एनकेएलमा आफ्नो कौशलता देखाउनेछन्। घरेलु टोलीका ६६ खेलाडीको प्रदर्शन रहनेछ। नेपाल कबड्डी संघले १० वर्षका लागि वार्षिक १५ लाख पाउने गरी एक्स्ट्रोनिक्स म्यानेजमेन्टलाई एनकेएललाई सुम्पिएको हो।

सोही एक्स्ट्रोनिक्सले सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली कबड्डीकै स्टार खेलाडीलाई सार्वजनिक गर्दै एनकेएलको रौनकता बढाएको हो। घनश्याम रोक्का मगर भारतीय फ्रेन्चाइज प्रो कबड्डी लिगका सदस्य पनि हुन्। उनी अहिले एनकेएलमा काठमान्डु माभरिक्सका मार्की खेलाडी अनुबन्धित छन्। यिनै स्टार खेलाडीलाई सार्वजनिक गर्दै आयोजकले एनकेएलको थप रोमाञ्चकता दिएको छ। कबड्डी लिगको सरगर्मी सुरु भएको छ। निकै चर्चा र लोकप्रियता बटुलेको क्रिकेटको फ्रेन्चाइज नेपाल प्रिमियर लिग (एनपिएल) सकिन नपाउँदै कबड्डीको पनि व्यावसायिक प्रतिस्पर्धा सुरु हुन लागेको हो। घनश्याम नेपाली टोलीका कप्तान पनि हुन्।

भारतमा नै जन्मिएका घनश्यामले त्यहीँ नै कबड्डी सिक्दै व्यावसायिक खेलमा सफलतासँगै नेपालको राष्ट्रिय टोलीसम्मको नेतृत्व गरिरहेका छन्। सन् २०२३ मा बंगलादेशमा भएको बंगबन्धु कबड्डी कपबाट नेपाली टोलीमा डेब्यु गरेका घनश्यामले पछिल्ला दुई सिजन भारतको प्रो कबड्डी लिगमा हरियाणा स्टिलर्सबाट खेल्दै आएका छन्। उनको नेतृत्वमा नेपालले जुनियर विश्व च्याम्पियनसिपमा पनि तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो। उनै घनश्याम नेपाल कबड्डी लिगमा काठमान्डु माभरिक्सका मार्की खेलाडी हुन्। भारतमा जन्मिएर त्यहाँ नै कर्मथलो बनाएकाले उनी राम्रोसँग नेपाली भाषा बोल्न सक्दैनन्। सोमबार पत्रकार सम्मेलनअगाडि नै उनले क्षमा माग्दै हिन्दी भाषामा बोल्ने अनुमति लिएका थिए। 

पछिल्लो समय कबड्डीले नेपालमा धेरै उचाइ लिएको घनश्यामको बुझाइ छ। एनकेएलको आयोजनाले नेपाली खेलाडीलाई आफ्नो क्षमता देखाउन राम्रो माध्यम बन्ने उनले विश्वास व्यक्त गरेका छन्। उनले नेपालमा धेरै राम्रा खेलाडीहरू रहेको पनि उल्लेख गरेका छन्। आफू नेपालबाट पनि खेल्दै आएको र आगामी दिनमा पनि नेपालकै झन्डामा खेल्ने उनको भनाइ छ। घनश्यामले आफ्नो बाबुआमा रोल्पाको लिबाङबाट ३२ वर्षअगाडि काम गर्ने सिलसिलामा भारत गएको बताए। उनले त्यहाँ नै आफू हुर्किएको र त्यहीं खेल सिकेको उल्लेख गरेका छन्।

रेडरको भूमिकामा खेल्दै आएका घनश्याम काठमान्डु माभरिक्सबाट सरोजकुमार सिंहको प्रशिक्षणमा खेल्नेछन्। उनले नेपाल कबड्डी लिगको आयोजनालाई लिएर आफू र अन्य खेलाडी निकै उत्साहित रहेको बताएका छन्। उनले सबै फ्रेन्चाइज टोली राम्रो रहेको उल्लेख गर्दै आफ्नो टोलीले उपाधि जित्ने गरी खेल्ने विश्वास व्यक्त गरेका छन्। घनश्यामले आफ्नो टोलीमा बंगलादेश र थाइल्यान्डका दुई राम्रा खेलाडी रहेको पनि उल्लेख गरेका छन्। खेलमा यसै हुन्छ भन्न नसकिए पनि लक्ष्य उपाधि जित्नु नै रहेको उनको भनाइ छ।

एनकेएलको ड्राफ्टमा ८४ खेलाडी थिए र यहाँबाट फ्रेन्चाइज टोलीले खेलाडी छनोट गरेका हुन्। सबै टोलीमा नेपाली खेलाडी मार्कीका रूपमा समावेश गरिएको छ। अन्य टोलीका मार्की खेलाडीमा विराटनगरमा कल्याण भुजेल, धनगढीमा पदमबहादुर विष्ट, हिमालयनमा गणेश पार्की, जनकपुरमा रामु टमाटा र पोखरामा प्रदीप मिजार छन्। सबै टोलीको प्रशिक्षक पनि तय भइसकेका छन्। विराटनगरले लोकबहादुर विष्ट, जनकपुरले पार्वती राई, काठमान्डुले सरोजकुमार सिंह, पोखराले विष्णुदत्त भट्ट र धनगढीले महेश बोहोरालाई प्रशिक्षक बनाएका छन्।

बुटवलको हिमालयन रेइडर्सले दुई जना प्रशिक्षकका रूपमा सन्दीप पन्त र भारतका पोथुगान्ती सतीशकुमारलाई राखेको छ। जनकपुरकी प्रशिक्षक पार्वतले १९औं एसियाली खेलकुदमा नेपाली महिला टोलीलाई कांस्य पदक दिलाएकी थिइन्। भारतका सतीशकुमार प्रो कबड्डी लिगका पूर्वखेलाडी हुन्। प्रत्येक टोलीमा १४ खेलाडी छन्। हरेक टोलीले कम्तीमा दुईदेखि ४ जनासम्म विदेशी खेलाडी लिएका छन्। एकै पटक दुई विदेशी खेलाडीले खेल्न पाउनेछन्। 

प्रकाशित: १ माघ २०८१ १०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App