खेलकुदको नतिजा प्रायः अनुमान गर्न कठिन हुन्छ। तर, एन्फा महिला लिगको फाइनल राउन्डमा विभागीय नेपाल पुलिस क्लबका प्रशिक्षक भोलानाथ सिलवाल भने यसपल्टको नतिजाबारे पहिले नै चनाखो थिए। उनले पुलिस कुनै पनि बेला हार्न सक्ने पूर्वानुमान गरिसकेका थिए। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार सम्पन्न विभागीय डर्बीमा साबिक एपिएफविरुद्ध भयो पनि त्यस्तै। एकपक्षीय रहेको खेलमा पुलिसले एपिएफसँग ६–० को नमज्जाको हार बेहोर्यो। यो पुलिसको लिगमै पहिलो हार हो।
प्रशिक्षक सिलवालले हार स्वीकार गर्दै भने, ‘एपिएफको स्तरमा हामी अलिकति डाउन भयौं।’ विभागीय डर्बीमा यत्रो गोल होला भनेर कल्पना गर्नु सायद नाइन्साफी हुन सक्छ। यही लिगको पहिलो राउन्डको नतिजालाई पल्टाएर हेर्ने हो भने पनि पुलिसले एपिएफलार्ई गोलरहित बराबरीमा रोक्न सफल भएको थियो।
त्यतिबेला पुलिसले पनि एपिएफलाई बलियो चुनौती पस्कियो। तर, दोस्रोपल्टको भेट पुलिसका लागि दुःखद साबित भयो। ११औं मिनेटमा एपिएफकी कप्तान अनिता बस्नेतले गोलको खाता खोलेकी थिइन्। त्यो खाता मुख्य रेफ्री उमेश बिडारीले अन्तिम ‘ह्विसल’ नबजाउँदासम्म खुला नै रह्यो। यस्तो अवस्थामा अनिता हाबी देखिइन्। उनले ह्याट्रिक पूरा गर्दा सरु लिम्बूले दुई र रेनुका नगरकोटेले एक गोल थपिन्।
‘बल पोजिसनमा हामी चुक्यौं। बल पाउँदा पनि विपक्षी खेलाडीलाई दिन पुग्यौं। मिस पासकै कारण बढी गोल खान पुग्यौं,’ भोलाले चित्त बुझाए। ११औं मिनेटमा अनिताले दिएको लामो पास गोलकिपर उषा नाथको अगाडि नै ‘ड्रप’ हुँदै बलले जाली चुम्यो।
३७औं मिनेटमा सरुले प्रहार गरेको बल पुलिसकी डिफेन्डर समीक्षा घिमिरेलाई लाग्दै प्रीति राईसामु पुग्यो। उनले उपलब्ध गराइदिएको बलमा रेनुकाले सहजै गोल गरिन्। पहिलो हाफमा दुई गोल मात्रै खाएको पुलिसले दोस्रो हाफमा भने चार गोल खान पुगेको हो।
एपिएफका मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डेले दोस्रो हाफमा कुनै बलियो रणनीति बनाएका थिएनन्। उनी सुरुको १० मिनेट अट्याकिङ खेल्ने र सफलता नमिले स्वाभाविक खेलमा फर्किने योजनामा थिए। किनभने एपिएफलाई २–० को नतिजा नै जितका लागि काफी हुने अवस्था निर्माण भइसकेको थियो। खेल पनि यही नतिजातिर जाने अवस्थामा थियो। तर, अट्याकिङमा जाँदा नै निरन्तर फाइदाजनक देखिएपछि उनले पुलिसलाई अन्तिम आठ मिनेट अझै नजरअन्दाज गरे। यसमा सफलता मिल्दा उनी दंग देखिन्छन्।
एपिएफका लागि चार गोल खेलको अन्तिम आठ मिनेटमा भएको हो। सरुले ८६औं र ८७औं मिनेटमा गोल गरिन्। यी दुवै गोल उनले आफ्नै राष्ट्रिय टोलीकी सहकर्मी अमृता जैसीलाई बिट गर्दै गरेकी हुन्। त्यसपछि अनिताले इन्जुरी समयमा दुई गोल गर्दै ह्याट्रिक पूरा गरिन्, त्यो पनि एक मिनेटको फरकमा।
हुन त अनिताले यसअघि घरेलु फुटबलमा थुप्रै ह्याट्रिक गरिसकेकी छन्। तर, यो ह्याट्रिक अनिताको करियरको लागि विशेष रह्यो, किनभने विभागीय टोलीविरुद्ध यो उनको पहिलो ह्याट्रिक हो।
यसका लागि भने करिब तीन वर्ष कुर्नुपरेको उनी सुनाउँछिन्। यो बिचमा उनको खेल करियर पनि सन्तोषजनक हुन सकेन। यही लिगको कुरा गर्ने हो भने पनि उनी अन्य खेलाडीको छायामै परिरहेकी थिइन्। तर, यसपल्ट उनलाई बाहिर निस्कने मौका भने विभागीय टोलीले नै दियो। अझ भनुम् विभागीय टोलीविरुद्ध ह्याट्रिक गर्दै आफ्नो खेल करियरको पानामा एक इतिहास पनि उनले लेखाइन्। त्यसैले ९४औं मिनेटमा सरुको क्रसमा माथिल्लो बार तर्फबाट गोल गरेपछि उनले खुलेरै ‘सेलिब्रेसन’ गरिन्।
‘ठ्याक्कै कति ह्याट्रिक गरें भन्ने चाहिँ सम्झना छैन। तर, यो चाहिँ विभागीय टोलीविरुद्ध पहिलो रह्यो,’ उनले सुनाइन्, ‘टिमले नै सेलिब्रेसन गर्ला भनेर कुरें। तर, पछि आफैंले गरें।’ यो जितसँगै तीन खेलबाट नौ अंक पुर्याएको एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पुलिस र आर्मी भने सात अंकसहित एपिएफलाई पछ्याइरहेका छन्।
प्रकाशित: २६ पुस २०८१ ०८:३५ शुक्रबार