१६ पुस २०८१ मंगलबार
image/svg+xml
खेल

नेपाल पदकविहीन

जुनियर इन्टरनेसनल ब्याडमिन्टन

मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै भारतीय खेलाडी। तस्बिर: नागरिक

नेपाल घरेलु कोर्टमा जारी योनेक्स सनराइज नेपाल जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा पदकविहीन भएको छ।

सिनियर च्यालेन्जमा एक कांस्य जितेको नेपाल जुनियरतर्पm भने पदकविहीन भएको हो। शनिबार नेपालको दुई चुनौती समाप्त भएसँगै घरेलु टोली पदकविहीन बन्न बाध्य भयो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा जारी सिरिजमा बाँकी महिला डबल्स र मिक्समा नेपाली खेलाडी पराजित भएका हुन्।

यसअघि शुक्रबार नै नेपालको १५ चुनौती पहिलो खेलमा नै समाप्त भएको थियो। तर, महिला डबल्स र मिक्समा नेपालले क्वार्टरफाइनलसम्म यात्रा तय गरे पनि सदुपयोग गर्न सकेन। मिक्समा सुबिन श्रेष्ठ ‘बी’ र दिलाशा रानाको जोडी पनि गर्व साहनी र इसिता नेगीको जोडीसँग २१–१५, २१–१४ ले पराजित भए।

महिला डबल्समा पनि टिसारानी शाक्य र स्वर्लिन श्रेष्ठको जोडी भारतका दिया भेमैहा र बरुणी पर्सवाल २१–५, २१–५ ले सहजै पराजित भए। यससँगै नेपाली खेलाडीको चुनौती समाप्त भएको हो। जारी नेपाल जुनियर इन्टरनेसनल सिरिजमा भारतको दबदबा रह्यो। पाँच वटै विधामा भारतीय खेलाडीको मात्र फाइनलमा प्रतिस्पर्धा रहेको छ।

पुरुष सिंगल्समा भारतका अंश नेगी र सूर्याक्ष रावतबीच प्रतिस्पर्धा हुनेछ। सेमिफाइनलमा अंशले भारतकै साइप्रसाद तिगलालाई २४–२२, २९–२७ र रावतले विश्वजित चौधरीलाई २४–२२, २१–१२ ले हराउँदै उपाधि भिडन्त तय गरेका हुन्। महिला सिंगल्समा पनि भारतका पारु चौधरी र मेधावी नागरबीच उपाधि प्रतिस्पर्धा हुनेछ।

सेमिफाइनलमा पारुले इसिता नेगीलाई २१–१८, २१–१३ र नागरले दिया भिमैयालाई २१–१२, २१–१८ ले हराएका हुन्। मिक्समा भने गर्व साहनी र इसिता नेगी तथा भाव्य छाब्रा र एन्जल पुनिराबीच उपाधि भिडन्त हुनेछ।

सेमिफाइनलमा गर्व र इसिताको जोडीले सौरभ साहु र प्रगति परिदाको जोडीलाई २१–१९, २२–२० ले हराउँदा भाव्य र एन्जलको जोडीले बिजोर्न जैसन र आन्या विष्टको जोडीमाथि २३–२५, २१–१५, २१–१९ ले हराएका हुन्।

पुरुष डबल्समा भाव्य छाब्रा र परम चौधरीको जोडी तथा दिव्यांश अग्रवाल र नीरज केसरी उपाधिनिकट पुगे। सेमिफाइनलमा भाव्य र परमको जोडीले दिव्यांश रावत र योगांश सिंहको जोडीलाई २१–१२, २१–१७ ले पराजित गरे।

अर्को सेमिफाइनलमा दिव्यांश र नीरजको जोडीले सी.लालरामसंगा र सौरभ साहुको जोडीलाई २१–१७, २१–१६ ले हराए। महिला डबल्समा पनि भारतकै दिया भिमैया र बरुणी पर्सवालको जोडी तथा आन्या विष्ट र एन्जल पुनिराको जोडीबीचको उपाधि भिडन्त हुनेछ।

 नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको सिरिजमा नेपालबाट समान आठ महिला तथा पुरुष खेलाडीले चुनौती प्रस्तुत गरेका थिए। भारतका ६०, नेपालका १६, थाइल्यान्डका १०, संयुक्त अरब इमिरेट्स (युएइ) का ४, इरानका ३, न्युजिल्यान्डका दुई तथा मलेसिया, अष्ट्रेलिया, बाङ्लादेश र इन्डोनेसियाका १/१ जना गरी कुल ९९ खेलाडीले सिरिजमा चुनौती प्रस्तुत गरेका थिए। 

प्रकाशित: १४ पुस २०८१ १०:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App