२६ माघ २०८२ सोमबार
image/svg+xml
खेल

ईमिलिया माविको ह्याट्रिक: लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जित्यो

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ स्थित मावि ईमिलियाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको छ।

बुद्धभूमि नगरपालिकाद्वारा बुढ्ढीमा आयोजित प्रतियोगितामा १३ स्वर्ण, ७ रजत र ७ कांस्य पदकसहित कुल २७ पदक जित्दै ईमिलियाले उपाधिसँगै नगद १५ हजार रुपैयाँ हात पार्‍यो।

दोस्रो स्थानमा कपिलवस्तु मावि राष्ट्रिय मावि, चेत्रादेईले १० स्वर्ण, १ रजत र ३ कांस्यसहित कुल १४ पदक जित्दै नगद १० हजार प्राप्त गर्‍यो। जनकल्याण मावि, बकुलीपुरले ६ स्वर्ण, १३ रजत र ४ कांस्यसहित कुल २३ पदक जित्दै तेस्रो स्थान हासिल गर्‍यो र नगद ७ हजार पुरस्कार पायो।

यसैगरी, वडा नम्बर-९ ले मेयर कप जित्दै १५ हजार रुपैयाँ प्राप्त गर्‍यो। वडा नम्बर-२ र ४ द्धितीय भई १० हजार तथा वडा नम्बर-१ र ५ तृतीय भई ७ हजार नगद पुरस्कार जिते।

विजयी खेलाडीहरूलाई शिल्ड र प्रमाणपत्र वितरण गर्दै मेयर केशवकुमार श्रेष्ठले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको बताए। उनले खेल र खेलाडीहरूको विकासका लागि प्रदेश र संघीय सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै बुढ्ढीमा उत्कृष्ट खेलमैदान निर्माणका लागि सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा वडा नं-१ का अध्यक्ष तेजबहादुर बस्नेत, वडा नं-२ का अध्यक्ष सुरजप्रताप राना, वडा नं-४ का अध्यक्ष सुशीलकुमार चौधरी, वडा नं-९ का अध्यक्ष प्रमोद आचार्यलगायतले विजयी खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।

मंसिर २५ देखि २९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, उसु लगायतका खेल समावेश गरिएका थिए। कार्यक्रम मेयर श्रेष्ठको अध्यक्षतामा तथा नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्णप्रसाद भट्टराईको सञ्चालनमा सम्पन्न भएको हो।

प्रकाशित: २९ मंसिर २०८१ १९:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App