२७ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

हेल्प नेपाल र इरानको यु-१८ टोली सेमिफाइनलमा

जितपछि हेल्प नेपालका खेलाडी। तस्बिर: विशाल पन्थ

हेल्प नेपाल स्पोटर्स क्लब र इरानको यु–१८ टोली लगातार तेस्रो जित निकाल्दै नेपालमा जारी काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेका छन्।

हेल्प नेपालले बुधबार भएको दोस्रो खेलमा माल्दिभ्सको क्लब एचडिसीमाथि ३–१ सेटको जित निकाल्दै च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएको हो। इरानी युवा टोली भने बुधबारकै पहिलो खेलमा भारतीय क्लब क्यलिकट हिरोजमाथि सोझो सेटमा जित निकाल्न सफल भयो।

समान तीन खेलबाट हेल्प नेपाल र इरानी टोलीले शतप्रतिशत जित निकाले। तर, हेल्प नेपालको आठ र इरानी टोलीले सात अंक जोडे। हेल्प नेपालले अब बिहीबार मुख्य प्रतिद्वन्द्वी इरानको यही युवा टोलीसँग प्रतिस्पर्धा गर्दै छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हेल्प नेपालले पहिलो सेट २५–२२ ले आफ्नो बनाउँदै सुखद सुरुआत गर्‍यो।

तर, दोस्रो सेट माल्दिभ्सको टोलीले आफ्नो पक्षमा पार्‍यो। यो सेट क्लब एचडिसीले २६–२४ ले आफ्नो बनायो। हेल्प नेपाल तेस्रो सेटमा हाबी भयो र फेरि अग्रता लियो। यो सेट हेल्प नेपालले २५–१९ ले आफ्नो पक्षमा पार्‍यो। चौथो सेटमा भने केही प्रतिस्पर्धा बन्यो। तर पनि हेल्प नेपालले २५–२१ ले आफ्नो बनाउँदै तेस्रो जित निकाल्यो।

अब हेल्प नेपालले लिगको अन्तिम खेलमा बलियो इरानको यु–१८ टोलीसँग खेल्नेछ। इरानी युवा टोलीले बुधबार नै तेस्रो जित निकाल्दै सेमिफाइनलमा स्थान बनाइसकेको छ। इरानी टोलीले भारतको क्यलिकटमाथि ३–० को सोझो सेटमा जित निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो।

इरानले भारतीय प्रतिद्वन्द्वीमाथि २७–२५,२५–२२ र २५–२० ले सेट आफ्नो बनाउँदै जित निकाल्यो। इरानी टोलीले लगातार तेस्रो जितसँगै सात अंक बटुल्यो। यसअघि इरानको टोलीले गण्डकी र माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ को सेटमा जित निकालेको थियो। गण्डकीले तेस्रो दुई हार बेहोरेको छ।

तीन हारका बावजुद गण्डकीको दुई अंक छ। गण्डकीले क्लब एचडिसीसँग ३–२ र हेल्प नेपालसँग ३–१ को हार बेहोरेको थियो। नेपालसहित चार राष्ट्रका पाँच क्लबले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन्। नेपालबाट हेल्प नेपाल स्पोर्ट्स क्लब र गण्डकी प्रदेश भलिबल संघले चुनौती प्रस्तुत गर्दै छन्।

आठौं प्रधानमन्त्री कपका शीर्ष दुई टोलीका रूपमा हेल्प नेपाल र गण्डकीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका हुन्। क्यालिकट हिरोज, इरानको यु–१८ टोली र क्लब एचडिसीले प्रतिस्पर्धा गरिरहेका छन्।

सिगंल राउन्ड रोबिन लिगका आधार च्याम्पियनसिप भइरहेको छ। लिगका उत्कृष्ट चार टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्। सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन्। उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ।

प्रकाशित: २७ मंसिर २०८१ ०७:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App