१२ पुस २०८१ शुक्रबार
image/svg+xml
खेल

गण्डकीले फेरि गुमायो अवसर

काभा पुरुष क्लब भलिबल

इरानी खेलाडीको स्पाइक ब्लक गर्ने प्रयासमा गण्डकीका खेलाडी। तस्बिर: विशाल पन्थ

फेरि दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकी प्रदेश भलिबल संघको काभा पुरुष क्लब भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ।

च्याम्पियनसिपमा सोमबार गण्डकी इरानको यु–१८ टोलीसँग ३–२ को सेटमा पराजित भयो। यससँगै गण्डकीले तेस्रो हार सामना गर्‍यो। चार राष्ट्रका पाँच टोलीले यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्दै छन्। तीमध्ये सिंगल राउन्ड रोबिन लिगपछि शीर्ष चार टोलीले सेमिफाइनलमा यात्रा तय गर्नेछन्। तर, गण्डकीको लगातार तेस्रो हारसँगै दोस्रो चरणको यात्रा कठिन बनेको हो।

दोस्रोपल्ट पनि दुई सेटको अग्रता जोगाउन नसक्दा गण्डकीले फेरि हार सामना गर्नुगर्‍यो। यसअघि शनिबार नै भएको खेलमा पनि गण्डकीले माल्दिभ्सको क्लब एचडिसीसँग दुई सेटको अग्रता जोगाउन सकेको थिएन।

सोमबार तेस्रो खेलमा पनि गण्डकीले सोही नियति सामना गर्नुपर्‍यो। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सोमबार गण्डकीले रोमाञ्चक बनेको पहिलो दुई सेट आफ्नो बनाउन सफल भयो।

पहिलो दुई सेट गण्डकीले २८–२६ र २५–२३ ले आफ्नो बनाएको थियो। तर, इरानी टोलीले उत्कृष्ट पुनरागमन गर्‍यो। इरानी टोलीले तेस्रो सेट २५–२१ र चौथो २५–२२ ले आफ्नो पक्षमा पार्‍यो। यससँगै खेल पाँचौं सेटतर्पm धकेलियो। निर्णायक सेट पनि रोमाञ्चक बन्यो। यो सेटमा कोर्ट परिवर्तन हुुनुअगाडि इरानी युवा टोली ८–७ ले मात्र अगाडि थियो।

तर, दोस्रो हाफमा पनि इरानको युवा टोलीले दबाब बनायो। यससँगै इरानी युवा टोलीले अन्ततः १५–१३ ले सेट लियो र रोमाञ्चक जित निकाल्यो। यसअघि गण्डकी माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ र नेपाली टोली हेल्प नेपाल स्पोटर्स क्लबसँग ३–१ ले पराजित भएको थियो। तीन हारका बावजुद गण्डकीको दुई अंक छ।

अब गण्डकीले भारतको क्यालिकट हिरोजविरुद्ध प्रतिस्पर्धा गर्नेछ। सोमबार नै क्यालिकटले माल्दिभ्सको क्लब २५–१३, २५–२३ र २५–२१ ले हराउँदै जारी च्याम्पियनसिपमा पहिलो जित निकाल्यो। क्यालिकटले पहिलो खेलमा घरेलु टोली हेल्प नेपाल स्पोटर््ससँग ३–२ को सेटमा हार बेहोरेको थियो।

यससँगै दुई खेलबाट हेल्प नेपाल पाँच अंकसहित शीर्ष स्थानमा छ। समान खेलबाट क्यालिकट र इरानको यु–१८ टोलीको समान चार अंक नै छ। इरानी युवा टोलीले आइतबार पनि माल्दिभ्सको क्लब एचडिसीसँग ३–२ को जित निकाल्दा दुई अंक बटुलेको थियो। दुई खेलबाट नै क्लब एचडिसीको तीन अंक र गण्डकीको दुई अंक छ। अब गण्डकीसँग सेमिफाइनलमा स्थान बनाउन भारतको क्यालिकट हिरोजसँग जित निकाल्नुको विकल्प हुने छैन। हेल्प नेपालले अब बुधबार क्लब एचडिसीसँग प्रतिस्पर्धा गर्नेछ।

सेमिफाइनलमा लिगको शीर्ष टोलीले तेस्रो स्थानको टोली तथा दोस्रो हुने टोलीले चौथो स्थानमा लिग सकाउने टोलीसँग खेल्नेछन्। उपाधि भिडन्त आगामी मंसिर २९ गते हुनेछ।

प्रकाशित: २५ मंसिर २०८१ ०८:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App