१३ पुस २०८१ शनिबार
image/svg+xml
खेल

सदस्य छलेर मन्त्री चौधरीको कार्यकक्षमा गोप्य माइन्युट

राखेप बोर्ड बैठक

राखेप बैठकमा अध्यक्षता गर्दै मन्त्री चौधरी (बीच) र सहभागी सदस्य। तस्बिर: नागरिक

नेपाली खेलाडीहरूले लामो समयदेखि प्रतीक्षा गरिरहेको दशौं राष्ट्रिय खेलकुद यसै वर्षको अन्त्यमा कर्णालीमा हुने भएको छ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको हो। हरेक दुई वर्षको अन्तरमा हुने दशौं राष्ट्रिय खेलकुदमा गत मंसिर २ गतेदेखि ९ गतेसम्म हुने तय थियो।

गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदको समापनका दिन (२०७९ साल कात्तिक २ गते) बसेको राखेपको ११५औं बोर्ड बैठकले यो मिति तय गरेको हो। तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्षसमेत रहेका युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले चासो नदिँदा राष्ट्रिय खेलकुदको आयोजना प्रभावित बन्दै आएको थियो।

राष्ट्रिय खेलकुद आयोजनाका लागि आवश्यक पर्ने बोर्ड बैठक राख्न मन्त्री चौधरीले चासो नदिँदा नेपाली खेलकुदको ठूलो खेल महोत्सव प्रभावित बन्न पुगेको हो। यसअघि नै गत शुक्रबार मन्त्री चौधरीले बोर्ड बैठक राखेका थिए। तर, राखेपको बोर्ड सदस्यसमेत रहेका मन्त्रालयका सचिव र सहसचिव अनुपस्थित हुँदा गणपुरक संख्या नपुगेको भन्दै मन्त्री चौधरीले बैठक रद्द गरेका थिए।

मन्त्रीले शुक्रबार फेरि ११८औं बोर्ड बैठक बोलाए, जहाँ कुल १९ बोर्ड सदस्यको उपस्थिति थियो। राष्ट्रिय खेलकुद आयोजनासहित कुल ६ वटा एजेन्डामा यी सबै सदस्यबीच छलफल पनि भयो।

तर, मन्त्री चौधरीले बोर्ड सदस्यको पटकपटक आग्रहका बाबजुद माइन्युट गर्न मानेनन्। केही छुट एजेन्डा रहेकाले पछि माइन्युट गर्ने भनेका थिए। तर, मन्त्री चौधरीले उपस्थित सदस्यमध्ये अधिकांशलाई बैठक सकिएको भन्दै आफ्नो गोप्य कार्यकक्षामा ८ जना सदस्यको हस्ताक्षरसहित माइन्युट पास गराएका छन्।

प्रदेशका सदस्यसचिव, तीन विभायीय टोली (एपिएफ, पुलिस र आर्मीका खेलकुद विभाग प्रमुख) का प्रतिनिधि, मन्त्रालय र राखेप सदस्यसचिव टंकलाल घिसिङले मात्र उक्त माइन्युटमा हस्ताक्षर गरेको एक हस्ताक्षरकर्ताले बताए।

‘हामी बैठकमा निस्किसकेका थियौं। पछि मन्त्रीज्यूले बोलाउनुभएको छ भन्ने सन्देश आयो। त्यहाँ गएपछि माइन्युटमा हस्ताक्षर गर्न लगाइयो। यस्तो किन गरिएको हो भनेर सोध्यौं पनि तर जबाफ पाएनौं। मन्त्रीज्यूको नियत सही देखिएन,’ हस्ताक्षर गरेका एक सदस्यले भने।

उक्त माइन्युटमा खेलकुद आयोजनाबाहेक आर्थिक सहयोग, राखेप विनियमावली, खेलाडी आवास, आर्थिक प्रशासनसम्बन्धी विनियमावली र राखेप कर्मचारी सेवासर्त लगायत विषय बैठकमा छलफल भएको थियो।

तर, मन्त्री चौधरी बैठकमा सहभागी आठ सदस्यबाहेकलाई छलेर छुट्टै माइन्युट गराए। जुन राज्यको कानुनविपरीत पनि छ। उक्त बैठकमा सहभागी राखेपका बोर्ड सदस्य अन्जन धमलाले भने सामाजिक सञ्जालमा नै मन्त्री चौधरीको आलोचना गरेका छन्।

 ‘मन्त्रीज्यू खेलकुद परिषद् तपाईको व्यक्तिगत होइन, जे मन लाग्यो त्यही गर्न। बैठकमा पत्र दिएर बोलाउने र छलफल गर्ने। तर, माइन्युट लुकाएर छुट्टै हस्ताक्षर गराउने। नाङ्गो नाच नदेखाउनुस् मन्त्रीज्यू। अब कानुनी उपचार खोजिन्छ,’ बोर्ड सदस्य धमलाले सामाजिक सञ्जालमा लेखेका छन्। पछिल्ला समय नेपाली खेलकुदमा निकै आलोचित मन्त्री चौधरीको हर्कत सार्वजनिक भएपछि उनको थप आलोचना भएको छ।

प्रकाशित: २२ मंसिर २०८१ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App