ताप्लेजुङको मैवाखोला गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा मैवाखोला मावि तेम्बे प्रथम भएको छ। नारायणी मावि साँघु द्धितीय र महेन्द्र मावि फाकुम्बा तृतीय भए। गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले विजेता विद्यालय र खेलाडीलाई शिल्ड र पुरस्कार प्रदान गरे।
मैवाखोला गाउँपालिकाले मंसिर १६ गतेदेखि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गरेको थियो। जिल्ला खेलकुद विकास समितिले पुस महिनाभित्र पालिकास्तरीय प्रतियोगिता सक्न ९ वटा पालिकालाई अनुरोध गरेको थियो। तर मैवाखोलाले मंसिरको दोस्रो सातामा प्रतियोगिता सम्पन्न गरेको हो।
गाउँपालिकाले ५ बिधाका प्रशिक्षकलाई अधिकृत स्तरको तलव भत्ता दिएर सेवा करार गरेको छ। साथै, मैवाखोला माविलाई नमूना विद्यालयको रूपमा विकास गर्दै आएको छ। संघीय सर्शत अनुदानबाट नारायणी मावि साँघुलाई पनि नमूना विद्यालयको रूपमा विकास गरिरहेको छ।
मैवाखोला माविका पूर्व विद्यार्थीहरूले खेल मैदान निर्माणको लागि रकम संकलन गरी खरिद गरिएको जग्गामा गाउँपालिकाको बजेटबाट खेल मैदान निर्माण गरेका छन्। यही नवनिर्मित मैदानमा यो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना भएको हो। यस वर्षको राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता पनि मैवाखोला गाउँपालिकामा हुँदै छ। अघिल्लो वर्षको प्रतियोगिता आठराई त्रिवेणी गाउँपालिकामा भएको थियो।



प्रकाशित: १९ मंसिर २०८१ ११:१५ बुधबार





