२९ माघ २०८२ बिहीबार
image/svg+xml
खेल

न्यू वेष्ट पोइन्ट बन्यो प्रथम लायन्स छात्रा फुटबल च्याम्पियन

लायन्स क्लब अफ बेनी लभ्लीहिलको आयोजनामा खुल्ला मञ्चमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबलको उपाधि बेनी न्यू वेष्ट पोइन्ट आवासीय मावि बेनीले जितेको छ।

शनिबार  भएको खुल्ला मञ्च बेनीमा सम्पन्न भएको फाइनलमा निर्धारित समय गोलरहित बराबर भएपछि टाई ब्रेकरमा समेत बेनी सामुदायिकलाई ४–५ ले न्यू वेष्ट पोइन्टले प्रथम लायन्सको हात पारेको हो।

बेनी सामुदायिकका एक खेलाडीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो भने न्यू वेष्ट पोइन्टका खेलाडीको सबै प्रहार सफल भयो। प्रतियोगिताको फाइनलमा दुवै पक्षले निर्धारित समयमा केही मौकाहरू पाए पनि सदुपयोग गर्न सकेनन्। ९० मिनेटमै नतिजा आफ्नो पक्षमा पार्न दुवै विद्यालयका खेलाडीले खेलमैदानमै रणनीति परिवर्तन गरेका थिए।

विजेता वेष्ट पोइन्टका सुरुवात देखि नै उत्कृष्ट लयमा देखिएको थियो भने उपविजेता बेनी सामुदायिकको समेत टिम वर्क र एट्याकिङमा निकै राम्रो भए पनि टिमलाई हारबाट जोगाउन सकेनन्। विजेता र उपविजेताको  डिफेन्डर,मिडफिल्डर सहितको पोजिसन राम्रो थियो।

प्रतियोगिताको विजेतालाई प्रमुख अतिथि लायन्स अन्तर्राष्ट्रिय अन्तर्गत डिष्ट्रिक्ट ३२५ आई नेपालको डिष्ट्रिक्ट गभर्नर विनोद ढुंगाना, बेनी नगरपालिकाका मेयर सुरत केसीले विजेता र उपविजेतालाई क्रमशः ३५ हजार,उपविजेता २० हजार रुपैयाँ सहित मेडल,ट्रफी र प्रमाणपत्र र अनुशासित टिमलाई ५ हजार रुपैयाँ नगद प्रदान गरेका थिए। अनुशासित टिम धौलागिरि मावि सिंगा ट्रफी,५ हजार रुपैयाँ नगद प्रदान गरिएको छ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी सज्जा पुन, उत्कृष्ट गोलरक्षक बिपना बिक,उत्कृष्ट मिडफिल्डर रिया पुन, सर्वाधिक गोलकर्तामा न्यू वेष्ट प्वाइन्टकी सरिता पटेल र निसा तुलाचन तथा बेनी सामुदायिककी मोनिका किसान, उत्कृष्ट डिफेन्डरमा वेष्ट प्वाइन्टकी प्रमिशा बानियाँ, उत्कृष्ट स्ट्राइकर सञ्चिता गुरुङ, उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राई र राइजिङ प्लेयर वेष्ट प्वाइन्टकी समृद्धि घर्तीलाई नगद सहित पुरस्कृत गरिएको छ।

 प्रतियोगिताले विद्यालय स्तरमा रहेका छात्राको फुटबल प्रतिभाको पहिचान तथा आगामी दिनमा हुने प्रदेशस्तरीय खेलमा समेत सहभागिताका लागि आवश्यक तालिम सहितका योजनामा सघाउने लायन्स क्लब अफ बेनी लभ्लीहीलका अध्यक्ष सोहन श्रेष्ठले बताए । प्रतियोगितामा म्याग्दीका १० विद्यालयको सहभागिता रहेको थियो। 

प्रकाशित: १५ मंसिर २०८१ १९:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App