६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा यु–१८ युथ लिग:मच्छिन्द्र र संकटाको पराजय

<br>

 ललित स्मृति एन्फा यु–१८ युथ लिगमा मच्छिन्द्र फुटबल क्लब र संकटा क्लब मंगलबार पराजित भए। ललितपुरे क्लब थ्री स्टारले मच्छिन्द्र र विभागीय टोली एपिएफले संकटालाई सजिलै समान २–० ले हराए।

अघिल्लो खेलमा रेलिगेसन जोनमा रहेको खुमलटार एफसीमाथि २–० कै जित निकालेको मच्छिन्द्रको यो खराब प्रदर्शनसँगै शीर्ष स्थानको नेपाल पुलिस क्लबसँग अंकदूरी कम गर्ने मौका गुमेको छ। यु–१६ युथ लिगको विजेता मच्छिन्द्र यो हारसँगै १८ अंकमा यथावत् छ। १० खेल खेलेको मच्छिन्द्रले पाँच जित, तीन बराबरी र दुई हार बेहोरेको छ। मच्छिन्द्रभन्दा अगाडि समान १९ अंक जोडेको न्युरोड टिम एनआरटी र मनाङ मर्स्याङदी क्लब छन्। यस्तै, शीर्ष स्थानको पुलिसले एनआरटी र मनाङसँग चार अंकको अग्रता लिएको छ।

अघिल्लो चरणमा सुरुआती अग्रता जोगाउन नसक्दा एपिएफसँग २–१ को हार बेहोरेको थ्री स्टारले सुरुआतदेखि नै पुनरागमन गर्ने संकेत देखाएको थियो। फलतः नवौं मिनेटमै विजय उर्नावको गोलमार्फत थ्री स्टारले त्यो सम्भव बनायो। मच्छिन्द्रका डिफेन्डरले आफ्नै खेलाडीलाई बल दिने प्रयास गरेका थिए। तर, विजयले कन्ट्रोल गर्दै बललाई गोलमा परिणत गरे। यो गोलसँगै मच्छिन्द्र पहिलो हाफमा खेलमा फर्किन सकेन। ५४औं मिनेटमा लामो पासमार्फत आएको बललाई मच्छिन्द्रका डिफेन्डरले सही जजमेन्ट गर्न नसक्दा विजयले नै अर्को गोल थपे। उनले पेनाल्टी बक्सनजिकबाट माथिल्लो बारतर्फ प्रहार गरेको बल सीधै गोलमा परिणत भयो। गोलकिपर पेमा नोर्बु भोटे अगाडि बढेको अवस्थालाई सदुपयोग गर्दै उनले खाली पोस्टमा गोल गरेका हुन्।  

अनिश थिङले रातो कार्ड पाएपछि ७७औं मिनेटमा मच्छिन्द्र १० खेलाडीमा समेटियो। काउन्टर अट्याकमा बल अगाडि बढाइरहेका सुनिल स्याङ्तानलाई लडाएपछि मुख्य रेफ्री युवराज तामाङले उनलाई सीधै रातो कार्ड देखाए। त्यसपछि मच्छिन्द्रले खेलमा फर्किने अवसर पाएन। अर्को खेलमा पवन पाख्रिन र सुदीप सुनारले एपिएफलाई लगातार तेस्रो जित दिलाए। एपिएफले अन्तिमपल्ट लिग लिडर पुलिससँग ६–० को फराकिलो हार बेहोरेको थियो। त्यसयता लिगमा पुनरागमन गर्न संघर्ष गरिरहेको एपिएफले चर्च बोइज युनाइटेड र थ्री स्टारलाई २–१ ले पन्छायो।  

संकटाविरुद्ध सुरुआती अग्रता लिन एपिएफलाई आधा घण्टा कुर्नुप¥यो। उक्त पर्खाइलाई पवनले सुखद बनाए। पेनाल्टी बक्सनजिक सुनिल थिङलाई रोक्ने प्रयास गर्दा संकटाका डिफेन्डर दिलान लिम्बूले तानेपछि रेफ्रीले फाउल दिए। प्राप्त फ्रिककलाई पवनले सदुपयोग गरे। उनले सीधै प्रहार गरेको बललाई संकटाका गोलकिपर निशान्त रानामगरले बचाउने प्रयास गरे पनि सफल हुन सकेनन्। आफ्नै उच्चाइमा आएको बललाई राम्रोसँग नियन्त्रणमा लिन नसक्दा बल ड्रप हुँदै जाली चुमेको हो। त्यसपछि संकटाले खेलमा फर्किन संघर्ष गरिरह्यो। यद्यपि, दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा सुदीपले अर्को गोल थप्दै संकटालाई हार चखाए।  

कप्तान रोहित गोलेले निकालेको थ्रु बलमा उनले वान भर्सेस वानमा गोल गरेका हुन्। अघिल्लो खेलमा संकटाले खुमलटारमाथि ६–३ को सानदार जित निकालेको थियो। योसँगै एपिएफले पाँच जित, एक बराबरी र चार हारसहित १६ अंक जोड्दै लिगको १०औं चरण सिध्याएको छ। यता, एपिएफसँग दुई अंकले पछि परेको संकटाले चार जित, तीन बराबरी र तीन हारको नतिजा निकालेको छ।  

प्रकाशित: ५ मंसिर २०८१ ०७:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App