७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
खेल

गोलघर मैदानलाई मिनी रंगशाला बनाउँछौं: खेलकुद मन्त्री महर्जन

फुटबल प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री महर्जन र लगायत।

बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले मनहरी-४ मसिनेको गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

चैनपुर जेसीज मनहरीको आयोजनामा शुक्रबारबाट सोही चौरमा सुरु भएको दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।

‘म मन्त्री हुँदा बजेट बनिसकेको थियो। यही क्षेत्रबाट निर्वाचित माननीय ईन्द्रबहादुर बानियाँ र मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले पनि मलाई यो चौरको विषयमा जानकारी गराइसक्नुभएको थियो’, मन्त्री महर्जनले भने, ‘यसलाई व्यवस्थित खेल मैदानसहितको मिनी रंगशालाको रुपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोग गर्नेछ।’

बागमती प्रदेश सरकार खेलकुदमैत्री रहेको दावी गर्दै उनले आफू पनि खेलेरै यो अवस्थासम्म आएको जानकारी समेत गराए। ‘म १२ वर्षको उमेरदेखि खेलकुदमा लागेको मान्छे हुँ, मैले मेरो जीवन खेलकुदमै बिताएकोले म यसको सम्भावना, समस्या र चुनौतीको बारेमा जानकार छु’, मन्त्री महर्जनले भने, ‘मैले रोजेरै खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको हुँ। बागमती प्रदेशको खेल क्षेत्रको विकासमा योजनाबद्ध कार्य गर्नेछु।’

खेल क्षेत्रमा युवा आकर्षण बढाउँदै खेलेरै परिवार धान्न सक्ने अवस्था निर्माण गर्नुपर्ने उनको भनाई थियो। यस्तै मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले साविक मनहरी क्षेत्रमा रंगशाला निर्माण भइरहेपनि हाँडीखोला क्षेत्रमा व्यवस्थित खेल मैदान नभएकोले गोलघर खेल मैदानलाई मिनी रंगशालाको रुपमा विकास गर्नु आवश्यक रहेको औंल्याउँदै प्रदेश सरकारको सहयोगको अपेक्षा गरे।

पालिकाले खेल क्षेत्रमा सक्दो लगानी गर्दै आएको भन्दै उनले आगामी दिनमा समेत योजनाबद्ध काम गर्ने धारणा राखे। मनहरी गाउँपालिका-४ नम्बर वडा अध्यक्ष प्रकाश थापाले गोलघर चौरको विषयमा जानकारी गराउँदै ज्ञापनपत्रसहित मन्त्री समक्ष बजेटको माग समेत गरेका थिए।

प्रतियोगिता संयोजक महेश खुलालको संयोजकत्व एवम् जेसीजका अध्यक्ष रविन ढकालको अध्यक्षतामा कार्यक्रम भएको हो। मनहरी गाउँपालिकाको ४ नम्बर वडाको मुख्य प्रायोजन एवम् अन्य विभिन्न संघसंस्थाको सहयोगमा प्रतियोगिता सुरु भएको हो।

नमोबुद्धको विजय सुरुवात

दोस्रो चैनपुर जेसीज मनहरी कप फुटबल प्रतियोगितामा हेटौंडा-१३ पदमपोखरीको नमोबुद्ध एफसीले विजय यात्रा सुरु गरेको छ।

उद्घाटन खेलमा मनहरी ४ नम्बर वडालाई २–० ले हराउँदै नमोबुद्धले विजय यात्रा सुरु गरेको हो। २६ औं मिनेटमा सुनिल लामाले गोल गर्दै नमोबुद्धलाई अग्रता दिलाएका थिए।

४३ औं मिनेटमा सामुयल सुनारले अग्रता दोब्बर बनाए। मनहरी-४ ले गोल गर्ने केही मौका पाएपनि सदुपयोग गर्न नसक्दा पहिलो खेलबाटै बाहिरिएको छ।

खेलको म्यान अफ द म्याच नमोबुद्धका सामुयल सुनार नै घोषित भए। उनले विभिन्न पुरस्कार प्राप्त गरे। जारी प्रतियोगितामा शनिबार हाँडीखोला यूथ क्लव र जनसिद्ध क्लवको बीचमा खेल हुनेछ।

मंसिर ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा जिल्लाका १६ वटा टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एकलाख एकहजार १११ रुपैयाँ र उपविजेताले ५१ हजार १५१ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछन्।

सर्वोत्कृष्ट खेलाडीले ७ हजार ५ सय रुपैयाँ र अन्य विधागत उत्कृष्टले जनही ३ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गर्ने जेसीजका महासचिव श्रीकृष्ण ढकालले जानकारी दिए।

प्रकाशित: २३ कार्तिक २०८१ १९:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App