विपद्का कारण परिवारबाट छुटेका, अभिभावक वा संरक्षकविहीन भएका तथा विशेष संरक्षणको आवश्यकता परेका बालबालिकाको सुरक्षा र संरक्षणका लागि सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ।
योजनाअन्तर्गत ललितपुरको गोदावरी नगरपालिका–१२, ठेचोमा बालबालिकाका लागि अस्थायी संरक्षण सेवा केन्द्र सञ्चालनमा आएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको पहलमा राष्ट्रिय बाल अधिकार परिषद्ले सञ्चालनमा ल्याएको ठेचोस्थित केन्द्र विपद् प्रभावित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकालाई तत्काल सुरक्षित आश्रय र आवश्यक संरक्षण सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको हो।
केन्द्रमा बालबालिकाका लागि सुरक्षित आवास, खानपान, स्वास्थ्य उपचार तथा मनोसामाजिक सहयोग उपलब्ध गराइनेछ। त्यस्तै, बालबालिकाको पारिवारिक अवस्था पहिचान गर्नुका साथै उनीहरूका परिवार वा आफन्तको खोजीसमेत गरिनेछ।

बालबालिकाको सर्वोत्तम हित र सुरक्षा सुनिश्चित गर्दै सम्भव भएसम्म उनीहरूलाई परिवार वा उपयुक्त आफन्तसँग सुरक्षित रूपमा पुनर्मिलन गराउने व्यवस्था गरिएको छ।
परिवार वा आफन्तसँग सुरक्षित पुनर्मिलन सम्भव नभएको अवस्थामा भने बालबालिकाको सर्वोत्तम हित, सुरक्षा र आवश्यकताको मूल्याङ्कन गरिनेछ। त्यसपछि प्रचलित कानुन तथा मापदण्डबमोजिम दीर्घकालीन सुरक्षित संरक्षणको व्यवस्था अन्तिम विकल्पका रूपमा गरिनेछ।
सरकारले विपद्का बेला परिवारबाट छुट्न पुगेका वा संरक्षणको आवश्यकता परेका बालबालिकालाई तत्काल सुरक्षित वातावरण उपलब्ध गराउँदै उनीहरूको परिवारसँग पुनर्मिलनलाई प्राथमिकता दिने नीति अघि सारेको हो।
प्रकाशित: ४ आश्विन २०८३ १९:१० आइतबार


-600x400.jpg)


