४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

कुशलको कीर्तिमान तोडेका लोफ्टी इटन चितवन राइनोजमा

चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी सिजनका लागि जान निकोल लोफ्टी–इटनलाई अनुबन्ध गरेको छ । चितवन मेडिकल कलेजको स्वामित्वमा रहेको चितवन राइनोजमा अनुबन्ध हुने लोफ्टी चौथो विदेशी खेलाडी हुन् । यसअघि चितवनले मर्रस्यन्ट डी ल्याङ्गा, ल्यूक मार्टिन बेनकेन्स्टाइन र हसन इसाखिललाई अनुबन्ध गरिसकेको छ ।

बायाँ हाते २३ वर्षीय ब्याट्सम्यानले गत फ्रेबुअरीमा टी–ट्वेन्टी आईमा सबैभन्दा छिटो शतकको कीर्तिमान बनाएका थिए (अहिले सबैभन्दा छिटो शतक बनाउने सूचीमा उनी दोस्रो स्थानमा छन्) । नेपालमा भएको घरेलु टोली, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिदेशीय शृंखलाको उद्घाटन खेलमा उनले सो कोसेढुङ्गा पार गरेका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोली नेपालविरुद्ध खेल्दै उनले ३३ बलमा शतक बनाएका थिए । एक बल कम खेल्दै उनले नेपाली अलराउन्डर कुशल मल्लको (हाल सबैभन्दा छिटो शतक बनाउने सूचीमा चौथो स्थानमा) कीर्तिमान तोडेका हुन् । कुशलले गतवर्ष चीनको हन्झाउमा भएको १९औं एसियाली खेलकुद प्रतियोगितामा मंगोलियाविरुद्ध ३४ बलमा शतक पूरा गरेका थिए । दुवैले चितवन राइनोजबाट एनपीएल खेल्नेछन् ।

चितवन राइनोजमा अनुबन्ध हुन पाउँदा लोफ्टी–इटने खुसी व्यक्त गरेका छन् । ‘त्रिवि क्रिकेट मैदानको सम्झना मेरो हृदयमा कोरिएको छ । यो मैदानले मलाई टी– ट्वेन्टी क्रिकेटको सबैभन्दा अविस्मरणीय इनिङ्स खेल्ने अवसर दिएको छ । अब नेपाली क्रिकेट समर्थकका अगाडि चितवन राइनोजबाट त्यस्तै प्रदर्शन गर्ने समय आएको छ’ उनले भने ।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले लोफ्टी(इटन  र मल्ल एकै टोलीमा भएको कारण एनपिएल थप रोमाञ्चक हुने विश्वास व्यक्त गरे । ‘नेपाली क्रिकेट समर्थकहरूले उनलाई गत सिजन त्रिवि मैदानमा कुशलको कीर्तिमान तोडेको देखेका थिए । अब दुवै धुरन्धर खेलाडी एउटै टोलीबाट खेल्नेछन् । आफ्नो सिट बेल्ट बाँध्नुहोस्,’ उनले भने ।

प्रकाशित: २० कार्तिक २०८१ १६:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App