नेपालका स्वस्तिका तिरुवा र नोर्बु थेन्डुप शेर्पाले मंगलबारआइएसएफ जिम्नासाइड समरगेम्सको बक्सिङमा स्वर्ण पदक जितेका छन्। बहराइनको मानामास्थित अल अहली क्लबमा भएको फाइनलमा दुवैले ब्राजिलका खेलाडीलाई पराजित गरेका हुन्।
महिला ५४ केजीमुनि फाइनलमा स्वस्तिकाले ब्राजिलकी ओलिभिएरालाई ५–० ले पराजित गरिन्। सेमिफाइनलमा उनले ब्राजिलकै बारोस फरेरा मार्सेलो डीलाई ५–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेकी थिइन्।
समग्रमा तीन अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी स्वस्तिकाको यो पहिलो स्वर्ण हो। स्वस्तिकाले सन् २०२१ मा दुबईमा भएको एसियाली जुनियरबक्सिङ प्रतियोगितामा कांस्य जितेकी थिइन्। पुरुष ८० केजीमुनि युथमा नोर्बुले फाइनलमा ब्राजिलका रेजेन्डा अक्युलेस वालिफरलाई ३–२ ले हराए। सेमिफाइनलमा उनले बहराइनका अनास अल जलाकीलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका थिए।
नोर्बुको यो नै पहिलो अन्तर्राष्ट्रिय पदक हो। पाँच खेलाडीले सहभागिता जनाएकोमा स्वस्तिका र नोर्बुसहित नेपालका चारखेलाडीले पदक जिते। नेपालले समान २/२ स्वर्ण रकांस्य जित्यो। पुरुष ४६ केजीमुनि रोहित जनाला तथा पुरुष ८० केजीमुनि सूर्यान वैद्यले कांस्य हात पारे। पुरुष ६३ केजीमुनि प्रतिस्पर्धा गरेका युनिक राई मात्र पदकविहीन बने।
प्रकाशित: १४ कार्तिक २०८१ ०७:२६ बुधबार





