४ पुस २०८१ बिहीबार
image/svg+xml
खेल

इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन चितवन राइनोजमा

.

इंग्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईन।

चितवन राइनोजले इङ्लिस युवा अलराउन्डर ल्यूक मार्टिन बेनकेन्स्टाईनलाई अनुबन्ध गरेको छ।

बेनकेन्स्टाईनले मंसिर १५ गतेदेखि काठमाडौंमा हुने नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवनबाट खेल्ने छन्। उनी चितवन राइनोजमा भित्रिने दोस्रो विदेशी खेलाडी हुन्।

यसअघि टोलीले दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्रस्यंट डी ल्यांगलाई अनुबन्ध गरेको थियो। जनवरीमा भएको यू–१९ विश्वकपमा १९ वर्षीया बेनकेन्स्टाईनले इङ्गल्यान्डको उपकप्तानको जिम्मेवारी सम्हालेका थिए।

ब्याटिङ र बलिङ दुवैमा निपुर्ण बेनकेन्स्टाईनले १७ वर्षको उमेरमा एसेक्सबाट काउन्टी क्रिकेटमा ६–४२ को कीर्तिमान राखेका थिए। त्यस्तै, सन् २०२२ मा ग्वादर शार्क्सलाई पाकिस्तान सुपर लिग (पिएसएल)को फाइनलमा पुर्‍याउन उनले ३७ बलमा ७१ रनको योगदान दिएका थिए।

चितवन राइनोजको प्रतिनिधित्व गर्न आफू आतुर रहेको बेनकेन्स्टाईनले बताएका छन्। ‘नेपाली समर्थकले सिर्जना गर्न सक्ने वातावरण जुनसुकै खेलाडीलाई लोभ्याउने खालको छ मेरो करियरको यो चरणमा सही किसिमको चुनौती हो। म चितवन राइनोजको प्रतिनिधित्व गर्न र आफ्नो प्रदर्शन देखाउन आतुर छु,’ उनले भनेका छन्।

चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले उनको आगमनले लिगमा उर्जा थपिने विश्वास व्यक्त गरे। ‘उनले जुन ऊर्जा ल्याउन सक्छन् र नेपाली समर्थकलाई मनोरञ्जन दिन सक्छन्, त्यसले नेपाल प्रिमियर लिगलाई थप उज्यालो बनाउनेछ,’ उनले भनेका छन्।

प्रकाशित: ११ कार्तिक २०८१ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App