भारतविरुद्धको पहिलो टेस्टमा न्यूजिल्यान्डले जित हात पारेको छ।
भारतको बैङ्गलोरमा आइतवार सम्पन्न भएको पहिलो टेस्टमा न्यूजिल्यान्डले घरेलु टोली भारतलाई ८ विकेटले पराजित गरेको हो।
बिहीवार सुरु भएको टेस्ट म्याचको पहिलो दिन वर्षाका कारण खेल नै हुन सकेन। तर, टस जितेर पहिला ब्याटिङ्ग सुरु गरेको भारत दोस्रो दिनको खेलमा ४६ रनमै अलआउट भयो। त्यसपछि ब्याटिङ्ग गर्न आएको न्यूजिल्यान्डले राम्रो प्रदर्शन गर्दै ४०२ रन बनाउँदै ३५६ रनको अग्रता कायम गर्यो। त्यसपछि आफ्नो दोस्रो पारी खेल्न आएको भारतले ४६२ रन बनाउँदै न्यूजिल्यान्डसमक्ष १०७ रनको लक्ष्य प्रस्तुत गर्यो। जुन न्यूजिल्यान्ड टीमले २ विकेटको क्षतिमा पुरा गर्यो।
भारतीय मैदानमा न्यूजिल्यान्डले ३६ वर्ष पछि टेस्ट क्रिकेटमा जित हात पारेको छ। यसअघि न्यूजिल्यान्डले १९८८ नोभेम्बरमा भारतलाई १३६ रनले पराजित गरेको थियो। त्यसअघि न्यूजिल्यान्डले १९६९ मा भारतलाई १६७ रनले पहिलोपटक पराजित गरेको थियो। यो समग्रमा भारतीय भूमीमा न्यूजिल्यान्डको तेस्रो जित हो।
अब भारत र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट २४ अक्टुबरबाट सुरु हुनेछ।
प्रकाशित: ४ कार्तिक २०८१ १२:५० आइतबार