१७ आश्विन २०८१ बिहीबार
image/svg+xml
खेल

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४: विदेशी टोली आउने क्रम जारी

एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा सहभागी हुन विदेशी टोली नेपाल आउने क्रम जारी छ।

एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स आगामी असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ। सोही एसिया रग्बी इमिरेट्स सेभेन्समा प्रतिस्पर्धा गर्ने थप पाँच राष्ट्र बुधबार नेपाल आइपुगेको संघले जनाएको छ। 

पाकिस्तानको पुरुष, भारतको पुरुष/महिला, इन्डोनेसियाको महिला, काजाकिस्तानको पुरुष र ग्वामको महिला टोली नेपाल आएको नेपाल रग्बी संघका सदस्य नवीन थापाले जानकारी दिए। यसअघि नेपाल आइपुग्ने विदेशी टोलीको संख्या आठ पुगेको छ। मंगलबार नै अफगानिस्तान, चाइनिज ताइपेई र फिलिपिन्सको टोली नेपाल आइपुगिसकेका छन्।

यस एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफीमा कुल १७ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। पुरुषतर्फ १४ र महिलामा ८ राष्ट्रले एसिया रग्बी इमिरेट्स सेभेन्स चुनौती प्रस्तुत गर्ने तय छ। 

नेपालमा पहिलोपल्ट एसियाली सिनियर स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो। यसअघि उमेरसमूहका प्रतिस्पर्धा एसिया यु–१८ सेभेन्स रग्बी ट्रफी र एसिया यु–२० सेभेन्स रग्बी ट्रफी आयोजना भएको थियो। 

सिर्जना र विक्रमलाई कप्तानको जिम्मेवारी

नेपाली राष्ट्रिय रग्बी टोलीको महिलातर्फ सिर्जना राई र पुरुषमा विक्रम पुरीले कप्तानको जिम्मेवारी पाएका छन्।

नेपाल रग्बी संघले बुधबार विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि सुरु हुने एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ का लागि नेपाली टोलीको कप्तान घोषणा गरेको हो। संघले यसअघि नै कप्तानबिना नै राष्ट्रिय टोली घोषणा गरेको थियो। सिर्जना र विक्रम नेपाली टोलीकै अनुभवी खेलाडीसमेत हुन्। यी दुवैलाई नै संघले कप्तानी जिम्मेवारी सुम्पिएको हो। एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा असोज १८ र १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सेभेन्स ट्रफी हुँदै छ। यस ट्रफीका लागि नेपालले पोखरामा करिब तीन महिना प्रशिक्षण गरेको थियो। सोही बन्द प्रशिक्षणबाट नेपाली टोली घोषणा गरिएको हो।

न्युजिल्यान्डका प्रशिक्षक फ्रेड मोएले नेपाली टोलीलाई प्रशिक्षण दिइरहेका छन्। फ्रेडले नै नेपाली टोली घोषणा गरेका हुन्। नेपाली महिला टोलीका अन्य खेलाडीमा आशा कुँसार, पुनम भुजेल श्रेष्ठ, सुस्मिता क्षेत्री, अनु शेर्पा, विशाखा मार्किन राई, रोजिना पोखरेल, विनीता शाही ठकुरी, सुजा राई, मनीषा थापामगर र कमला राई टोलीमा छन्। चार वैकल्पिक खेलाडीमा संगीता घिसिङ, सावित्री पुर्जा, सिर्जना छन्त्याल र अप्सरा कार्कीलाई राखिएको छ। नेपाली राष्ट्रिय पुरुष रग्बी टोलीमा विराट श्रेष्ठ, विवेश बासु, सविन महत, क्याल्भिन जोशी, यदु अधिकारी, निरोज कार्की, नवीनबहादुर मगर, गणेश बानियाँ, रोहन डंगोल, विजय खड्का र कपिल ठकुरी छन्।

विनोदबहादुर शाही, मशेष सुनार, सञ्जय अधिकारी र प्रमेश चौधरीलाई भने वैकल्पिकमा छानिएको छ। एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा एसियाका १७ राष्ट्रले प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन्। यो प्रतियोगिता २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटको रूपमा समेत रहेको छ। प्रतियोगिताका विजेताले २०२५ मा हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउनेछन्।

प्रकाशित: १७ आश्विन २०८१ ०९:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App