१२ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आर्मीका मुकेश र पूर्णलक्ष्मी च्याम्पियन

नेपाल आर्मी क्लबका मुकेशबहादुर पाल र पूर्णलक्ष्मी न्यौपाने खुला पाँच किलोमिटर दौडमा शुक्रबार च्याम्पियन भएका छन्। विश्व पर्यटन दिवसका अवसरमा रोटरी क्लब अफ यल पाटनद्वारा आयोजित दौडमा मुकेश पुरुषमा र पूर्णलक्ष्मी महिलामा च्याम्पियन भएका हुन्।

मुकेशले निर्धारित दूरी १५ मिनेट १२.७५ सेकेन्डमा पूरा गरे। सञ्जय श्रेष्ठ दोस्रो र सञ्जीव नेपाली तेस्रो भए। सञ्जयले १५ मिनेट १५.०२ सेकेन्ड र सञ्जीवले १५ मिनेट ३०.८७ सेकेन्ड समयमा दौड पूरा गरे। रत्नबहादुर खत्री चौथो, मिङ्मारसिंह तामाङ पाँचौं, धीरबहादुर बुढा छैटौं, सागर बुढाथोकी सातौं, सञ्जय राई आठौं, रणबहादुर रोकामगर नवौं र कर्णबहादुर रोकामगर दसौं स्थानमा रहे। सञ्जीव एपिएफ तथा मिङ्मार सिन्धुपाल्चोकका हुन् भने बाँकी सबै नेपाल आर्मीका खेलाडी हुन्।

दौडमा पूर्णलक्ष्मीले १८ मिनेट १८.३८ सेकेन्डमा दूरी तय गर्दै सफलता पाएकी हुन्। निर्मला केसी दोस्रो र सिर्जना पाण्डे तेस्रो भए। निर्मलाले १८ मिनेट २०.६४ सेकेन्ड र सिर्जनाले १८ मिनेट २९.४५ सेकेन्ड समयमा दौड पूरा गरे। यी तीनै आर्मीका खेलाडी हुन्।

नेपाल पुलिसकी सुमित्रा चौधरी, एपिएफकी आशा रावत, सोलुखुम्बुकी सुशान्त कार्की, स्वयम्भूकी सोनु घटानी, निला जिमी, ललितपुरकी मन्जु सुनुवार र सुन्दरीजलकी सम्झना राईले क्रमशः चौथोदेखि दशौं स्थानमा रहे। पुरुष-महिला दुवैमा शीर्ष चारका खेलाडीले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २ हजार नगद पुरस्कार पाए।

पाँचौंदेखि दशौं स्थानलाई प्रोत्साहन स्वरूप समान एक हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे। विजेतालाई रोटरी ३२९२ का डिस्ट्रिक्ट गभर्नर राजेन्द्रमान शेरचन, आयोजक रोटरी क्लब अफ यल, पाटनका अध्यक्ष धर्मेन्द्रराज शाक्य, ललितपुर पर्यटन बोर्डका अध्यक्ष दिलेन्द्रराज श्रेष्ठ र ललितपुर महानगरपालिका वडा– १६ का अध्यक्ष निर्मलरत्न शाक्यले पुरस्कृत गरेका थिए।

त्यसअघि दौडको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले संयुक्त रूपमा उद्घाटन गरेका थिए।

प्रकाशित: १२ आश्विन २०८१ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App