१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

कोशी ब्यारेज पुलबाट आवत–जावत बन्द

निरन्तरको वर्षाले कोशी नदीमा पानीको बहाव अत्यधिक चरम खतराको तह पार गरेपछि सवारी आवागमनमा रोक लगाइएको छ।

आज दिउँसो साढे ३ बजेको मापनअनुसार कोशीको पानीको बहाव ५ लाख ४१ हजार १६५ क्युसेक प्रतिसेकेन्ड पुगेको कोशी ब्यारेज नियन्त्रण कक्षले जानकारी दिएको छ।

पानीको सतह बढ्ने क्रममा रहेकोले सवारी तथा सर्वसाधारणको आवागमनमा रोक लगाइएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता भीम दाहालले जानकारी दिए।

उनका अनुसार कोशी ब्यारेजका सबै ढोका खोल्दा पनि पानीको मात्रा कम हुने संकेत नदेखिएपछि सम्पूर्ण आवागमन बन्द गरिएको हो।

अहिले गन्तव्य तर्फ जाने सवारी साधन कोशी पूर्व र पश्चिम रोकिएका छन्। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, सप्तरी र नसरीका प्रशासन र कोसी योजनाका भारतीय प्राविधिकहरुको छलफलपछि पुलमा जोखिम बढेको भन्दै सवारी साधन आवागमनमा रोक लगाउने निर्णय भएको हो।

कोशी ब्यारेजबाट जाने– आउने सवारी साधनलाई चतराबाट डाइभर्ट गरिएको छ। यात्रुहरूलाई कुनै समस्या भए ट्राफिक प्रहरीको १०३ नं मा फोन गरी सहयोग दिन सक्ने प्रवक्ता दाहालले बताए। उनका अनुसार कोशी पुल पहिलो पटक बन्द गरिएको हो।

कोशी नदीमा पानीको बहाव बढेपछि ब्यारेजका ५६  ढोका खुला गरिएको छ। कोशी ब्यारेजमा अहिले खतराको संकेतको रातो बत्ती बालिएको छ। कोशी नदीमा पानीको बहाव एक लाख ५० हजार काट्ने बित्तिकै सर्वसाधारणलाई सचेत गर्नका निम्ति कन्ट्रोल कक्षमाथि रातो बत्ती बाल्ने गरिन्छ।

कोशी ब्यारेज कन्ट्रोल रूमका अनुसार सन १९६८ मा सात लाख ८८ हजार २ सय क्युसेक पुगेको थियो। जुन अहिलेसम्मकै सबैभन्दा उच्च हो। सन् १९८७ मा पाँच लाख २३ हजार सात सय ७१ क्युसेक पुगेको थियो।

कोशी ब्यारेज बनेपछिको सुरुवाती वर्षहरूमा कोशी नदीमा बालुवाको सतह कम थियो। वर्षाको पानी माथिबाट गेग्रान बोकेर आउदैन्थ्यो। र, बहाव बढ्दा पनि बाँध र पुलमा जोखिम कम हुन्थ्यो। तर, पछिल्ला वर्षहरूमा वर्षा हुँदा पानी भन्दा अधिक गेग्रान बोकेर कोशीमा बाढी उर्लिदा जोखिम बढाउने गरेको जलाधार विज्ञहरू बताउँछन्। अझ, कोशी पुल निश्चित आयु पनि पार गरिसकेकोले खतरा जोखिम झन् बढाएको छ।

२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा कोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो। तटबन्ध भत्काएर कोशी बस्ती पस्दा सात हजार पाँच सय ६३ परिवार विस्थापित भएका थिए।

ब्यारेजको नियन्त्रण भारतीय पक्षले गर्छ, बहाव उच्च भएपछि भारतीय पक्षले सबै ढोका खुला गरेको हो। भारतीय पक्षले बाढी ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्ने  खतरा रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। बहाव उच्च भएपछि पूर्वी तटीय सुनसरी र पश्चिमी तटीय सप्तरी क्षेत्रमा स्थानीय प्रशासनले सतर्कता अपनाउन अपिल गरेका छन्।

कोशीमा बहाव उच्च भएपछि भारतको बिहार राज्री पटनास्थीत जल संसाधन विभागकाले शुक्रबार सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका थिए। जारी सूचनाअनुसार शनिबार (आज) कोशीमा जलस्तर ६ लाख ८१ हजार ६३९ क्युसेक पुग्न सक्ने अनुमान छ।

प्रकाशित: १२ आश्विन २०८१ १६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App