१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

गुलसन झा ‘बिग म्याच विनर’

हरेक खेलाडीका लागि करियरमा उच्च सफलताको संघारमा पुगेर पनि चुक्नु जस्तो ठूलो पीडादायी क्षण कहिले होला र ? त्यस दिनलाई बिरलै उनीहरू बिर्सन्छन् होलान्।

एक खेलाडीका लागि जित र हार भनेको सामान्य प्रक्रिया नै हो। तर, त्यो ऐतिहासिक जितनजिक पुगेर पनि चुक्नु चाहिँ खेलाडीका लागि सदैव असह्य हुने गर्दछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा अलराउन्डर गुलसन झाले पनि त्यो अवस्था सामना गर्नुपर्‍यो। हुन त उनी ब्याटिङबाट ‘बिग म्याच’ का खेलाडी रूपमा चिनिन्छन्। तर, एक दिन भने उनले त्यो छविलाई पूरा गर्न सकेनन्। अझ भनौं उनले चाहेर पनि सम्भव भएन। सन्दर्भ हो, केही महिनाअगाडि मात्र सम्पन्न आइसिसी ट्वान्टी–२० विश्वकपको ।

खेल थियो, वेस्ट इन्डिजको भूमिमा दक्षिण अफ्रिकासँग। विश्वकप क्रिकेटको त्यो खेल सायदै गुलसनले भुल्छन् होला। किनकि माथि उल्लेख गरिएको सन्दर्भ नेपालले दक्षिण अफ्रिकाविरुद्धको विश्वकप खेलमा नै सामना गरेको हो। त्यो पनि ‘बिग म्याच विनर’ गुलसनको क्रिजमा रहँदा। अब लागौं खेलतर्फ। त्यति बेलामा नेपाललाई अन्तिम बलमा जितका लागि दुई रन चाहिन्थ्यो। तर, त्यो दुई रन पूरा हुने संघारमा रहे पनि गुलसन चुके। यससँगै टेस्ट राष्ट्र दक्षिण अफ्रिकामाथि ऐतिहासिक विजयको संघार पुगेर पनि नेपाल असफल भयो।

दक्षिण अफ्रिकासँगको खेलपछि गुलसनले क्रिकेट समर्थकको धेरै आलोचना पनि सहनुपर्‍यो। यद्यपि, त्यो एक खेललाई लिएर उनको पूरा खेलजीवनबारे विश्लेषण या आलोचना गर्नु कदापि सही हुँदैन। उनी स्वयम् पनि त्यो हार चाहँदैनथे। अर्को सत्य हो, गुलसनले कैयन् पटक देशका लागि जितका आधार तय गरेका छन्। त्यसैले पनि एक इनिङलाई लिएर उनीमाथि आलोचना गर्नु न्यायसम्मत हुने छैन।

उनको एउटा त्यस्तो इनिङ थियो, जसले नेपाललाई पहिलोल्पट एसिया कपमा पुर्‍याएको थियो। त्यससँगै नेपालले विश्व क्रिकेटका महारथी भारत र पाकिस्तानजस्ता राष्ट्रसँग खेल्यो। यी दुईविरुद्ध खेल्दा नेपाली क्रिकेटको चर्चा विश्वमाझ नै भयो । त्यो अवस्था सिर्जना हुनुका कारणमध्ये एक गुलसन नै हुन्। उनै गुलसन अहिले पनि चर्चामा छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी भदौ २८ गते प्रदान गर्ने पल्सर स्पोर्ट्स अवार्डको २१औं संस्करणका लागि गुलसन पिपल्स चोइस विधाको मनोनयनमा परेका छन्।

एक वर्षको विश्रामपछि फेरि क्रिकेट खेलाडी यो विधाको मनोनयनमा परेका हुन् । फुटबलकी प्रीति राई, भलिबलकी कविता भट्ट, कबड्डीकी मानमती विष्ट र रग्बीका श्रीराम श्रेष्ठ रहेको यस विधामा गुलसनले विजेता बन्नका लागि प्रतिस्पर्धा गर्नुपर्नेछ। पिपल्स चोइस अवार्डको विजेताले पल्सरको एनएस ४०० सिरिज मोटरसाइकल पाउनेछन् । गोल्छा ग्रुपले एनएस ४०० सिरिज बाइक स्पोर्ट्स अवार्डको प्रमोसनलकै दौरान लन्च गरेको थियो। मञ्चमा आबद्ध खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाको भोटिङबाट पिपिल्स च्वाइस विजेता छान्ने प्रावधान छ।

दाहिने हाते बलिङ र देव्रेहाते ब्याटिङले गुलसनलाई नेपाली टोलीको स्तरीय र महत्त्वपूर्ण अलराउन्डरका रूपमा उभ्याएको छ। गत वर्ष नेपालले खचाखच भरिएको त्रिवि क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग एसिसी प्रिमियर कपको फाइनल खेल्दै थियो।

त्यति बेलासम्म एसिया कप खेल्न नसकेको पृष्ठभूमिमा युएईसँगको फाइनलअघि नेपाल इतिहासकै ठूलो सफलताको नजिक थियो। युएईलाई ११७ रनमा अलआउट गरेर नेपालले आधा काम सकाइसकेको थियो। तर, आठ ओभरमा २२/३ को अवस्थामा पुगेपछि कतै नेपालले ब्याटिङबाटै फेरि धोका पाउने त होइन भन्ने प्रश्न उठे। तेस्रो नम्बरमा पठाइएका गुलसनले नेपाली क्रिकेट इतिहासको एउटा उत्कृष्ट इनिङ खेले। ६७ रनमा अविजित रहँदा उनले ८४ बलमा तीन चौका र ६ छक्का प्रहार गरे।

भीम सार्कीसँग उनको ९६ रनको अविजित साझेदारीसँगै नेपाल एसिया कपमा पुग्यो। पछि एसिया कपमा उनले पाकिस्तानविरुद्ध १३ र भारतविरुद्ध २३ रन जोडे। अर्को ‘बिग इनिङ’ उनले ट्वान्टी–२० विश्वकपको एसिया छनोटको फाइनलमा ओमानविरुद्ध कीर्तिपुरमै खेले। उनले २५ बलमै पाँच चौका र चार छक्कासहित ५४ रन जोडेपछि नेपालले ओमानलाई एक सय ८४ रनको लक्ष्य दियो। तर, सुपर ओभरमा पुगेर नेपाल फाइनलमा ओमानसँग पराजित हुन पुग्यो। गत वर्ष गुलसनको ब्याट र बल राम्रैसँग चम्किएको थियो।

उनले १७ एकदिवसीय अन्तर्राष्ट्रियमा तीन सय ३७ रन जोडे। बलिङमा उनले १० विकेट लिएका थिए। एकदिवसीय विश्वकप छनोटमा अमेरिकाविरुद्ध हरारेमा ५२ रन खर्चेर ३ विकेट लिनु उनको उत्कृष्ट बलिङ रह्यो। गत वर्ष ट्वान्टी–२० अन्तर्राष्ट्रियका २५ खेलमा उनले ३ सय ४९ रन बनाएका थिए। प्रतिओभर ७ रनभन्दा मुनि खर्चेर उनले १० विकेट लिएका थिए। अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न ट्वान्टी–२० विश्वकपमा १८ वर्षकै उमेरमा खेलेर चर्चामा पाएका गुलसन घरेलु क्रिकेट नेपाल पुलिस क्लबबाट खेल्ने गर्छन्।

तीन वर्षअगाडि एपिएफविरुद्ध प्रधानमन्त्री कपको फाइनलमा चार विकेट लिएर पुलिस क्लबलाई उपाधि दिलाएपछि उनी चर्चामा रहे। लगत्तै सन् २०२१ मा ओमानमा अमेरिकाविरुद्ध उनले आइसिसी विश्वकप लिग–२ मा खेल्दै अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गरेका थिए। गत वर्ष नै जिम्बाब्वेमा उनले आइसिसी यु–१९ विश्वकप पनि खेलेका थिए। नेपाली क्रिकेटका यी प्रतिभा गत वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा निकै व्यस्त रहे। 

प्रकाशित: १९ भाद्र २०८१ ११:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App