६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफमा खड्कियो सावित्राको अभाव

नेपाली महिला फुटबल टोलीकी नम्बर एक स्ट्राइकर सावित्रा भण्डारी एपिएफमा नहुँदा कति फरक पर्छ ? एन्फा महिला लिग सुरु हुनुभन्दा एक दिन अर्थात् शनिबार एपिएफका मुख्य प्रशिक्षक जीवेश पाण्डेलाई प्रश्न सोधियो। उनले स्वाभाविक उत्तर दिए, ‘सधै सावित्रामा भर पर्नुभन्दा पनि अर्की सावित्रा खोज्नुपर्ने अवस्था आइसकेको छ।’

हुन पनि हो। सावित्राले एपिएफका लागि चार चाँद नै लगाउँदै आएकी थिइन्। २०७७ मा भएको संस्करणको लिगका नौ खेलमा उनले सर्वाधिक ३८ गोल गरेकी थिइन्। तर, गत संस्करण भने उनले चोटका कारण त्यति धेरै गोल गर्न सकिनन्। चोटबाट फर्किएसँगै उनले विदेशी क्लबमा त्यस्तै सानदार लय देखाएकी थिइन्। तर, उनी एपिएफबाट नखेली फ्रान्स नै फर्किइन्। त्यसैले उनी नहुँदा एपिएफको फिनिसिङ कमजोर देखिने अनुमान थियो। मंगलबार अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग भएको खेलमा गोलरहित बराबरी खेलेपछि जीवेशले पनि त्यस्तै महसुस गरे।

‘हाम्रो पछिल्ला दुई खेलमा पनि स्कोर नै गर्न नसकिरहेको जस्तो देखिएको थियो। गेम त राम्रो थियो। तर, अट्याकिङ थर्डमा भने समस्या भइरहेको छ। अहिले सावित्रा छैनन्। त्यसले पनि असर गरिरहेको छ,’ उनले भने। राष्ट्रिय टोलीका अधिकांश खेलाडी रहेको एपिएफमा केही कमी छ भने त्यो सावित्राको नै हो। यो एपिएफको पछिल्ला तीन खेलका नतिजाले नै स्पष्ट पार्छ। मलेसियाको लिकस रंगशालामा अघिल्लो हप्तामात्रै एपिएफले एएफसी महिला च्याम्पियनसिपको प्रारम्भिक छनोट खेलको थियो।

तर, सावित्राबिना घरेलु टोली सबाह एफसी र उज्वेकिस्तानको पिएफसी नासफसँग प्रतिस्पर्धा गरेको एपिएफले प्रतियोगिताभर खासै उल्लेखनीय अवसर सिर्जना गर्न सकेन। त्यसैले एपिएफ पहिलो सहभागितामै जितविहीन हुँदै स्वदेश फर्कियो। यो शृंखला मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पनि दोहोरियो। मंगलबार पनि एपिएफले पुलिसविरुद्ध खासै अवसर सिर्जना गर्न सकेन र पहिलो खेलमै अंक बाँड्यो। गत संस्करणमा सात खेल खेल्दा कुनै हार नबेहोरेको एपिएफले ३४ गोल गरेको थियो।

त्यसमा एपिएफले चार गोल मात्रै बेहोर्न पर्‍यो। तर, मंगलबारको नतिजाले भने एपिएफका लागि लिगका आगामी खेल सहज नहुने संकेत दिएको छ। ‘सावित्राको वरिपरि हामी घुमेको होइन। तर, उनी हुनु र नहुनुमा धेरै फरक देखिन्छ भन्ने प्रस्ट छ,’ पाण्डेले सुनाए। सावित्रा एपिएफबाट बाहिरिएसँगै उनको कमी पूरा गर्न एपिएफले रश्मिकुमारी घिसिङलाई अर्को विभागीय क्लब त्रिभुवन आर्मीबाट भित्र्याएको थियो। २२ वर्षीय घिसिङले यसअघि एपिएफससँग च्याम्पियनसिप छनोट खेलेकी थिइन्। तर, उनले आफ्नो लय भने समात्न सकेकी छैनन्।

अहिले एपिएफलाई समस्या भने सावित्री नहुनुको मात्रै होइन, पहिलो रोजाइको गोलकिपर एन्जिला तुम्बाप्पो सुब्बा नहुनु पनि रहेको पाण्डे सुनाउँछन्। राष्ट्रिय टोलीको कप्तानसमेत रहेकी सुब्बा ग्रिसको महिला सुपर लिग क्लब निस एट्रोमिटोउमा अनुबन्धित भएकी छन्। उनी अबको एक वर्ष एपिएफको जर्मीमा देखिने छैनन्। एपिएफसँग बराबरी खेल्दा पुलिसका मुख्य प्रशिक्षक भोलानाथ सिलवाल भने दंग देखिए। गत संस्करण उपविजेतामा सीमित भएको पुलिसले एपिएफलाई रोकेको बिरलै खेल छ।

यदि अहिले एपिएफ पहिलैकै लयमा हुन्थ्यो भने पुलिसले यो एक अंक पनि प्राप्त गर्ने थिएन। त्यसैले एक अंकमा चित्त बुझाउनुमै सिलवाल यति धेरै दंग देखिएका हुन्। ‘एपिएफमा सबै राष्ट्रिय टोलीका खेलाडी छन्। त्यसैले हामी अलिकति डाउन देखियौं। तर, पनि यतिको टोलीसँग एक अंक आउनुमा नै खुसी छु,’ उनले भने। पुलिसको लक्ष्य कालान्तरमा शीर्ष चारमा रहेर अर्को चरणमा हुने सुपर लिग खेल्ने छ। यही खेलको नतिजाले पनि आगामी खेलमा एपिएफको चुनौती चिर्न सकिनेमा उनी आशावादी देखिन्छन्।

रजनीको गोलमा जोगियो चन्द्रपुर मंगलबार नै भएको पहिलो खेलमा पनि एपिएफ र पुलिसको भन्दा कम रहेन। तर, यो खेलमा कर्णाली प्रदेश र चन्द्रपुर नगरपालिका भिड्दा १–१ गोल भने निस्कियो। एन्फा महिला लिगमा तेस्रो भएर काठमाडौं आइपुगेको कर्णालीले सातौं मिनेटमै सुनकला राईको गोलमार्फत सुरुआती अग्रता लिएको थियो। पेनाल्टी बक्सभन्दा बाहिरबाट पाएको बललाई उनले माथिल्लो बारको दिशा दिँदै गोलमा परिणत गरिन्। तर, उक्त अग्रता कर्णालीले पहिलो हाफसम्म पनि कायम राख्न सकेन।

पहिलो हाफको इन्जुरी समयमा सेनु परियारले काउन्टर अट्याकमा उत्कृष्ट मुभ बनाएकी थिइन्। त्यही मुभमा उपलब्ध बललाई पेनाल्टी बक्सबाट रजनी थोकरले वान टचमै जाली चुमाउँदै चन्द्रपुरलाई खेलमा फर्काइन्। 

प्रकाशित: १९ भाद्र २०८१ ०७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App