हस्तान्तरण नहुँदै उप्किएको नेपालगन्ज रंगशालामा रहेको ‘सेन्थेटिक ट्रयाक’ को युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले बुधबार स्थलगत निरीक्षण गरेका छन्।
सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद्ले राखेपका सदस्य एल.बि. क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको थियो।
नेपालगन्ज आएका मन्त्री चौधरीले बुधबार रंगशालामा पुगेर स्थलगत रुपमा निरीक्षण गरेका हुन्। सो क्रममा उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका क्रममा निर्माण भएका भौतिक संरचनाको पनि निरीक्षण गरे।
स्थलगत रुपमा निरीक्षण गरिसकेपछि मन्त्री चौधरीले हालै निर्माण सम्पन्न भएको सेन्थेटिक ट्रयाक हस्तान्तरण नहुँदै उप्किएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएरै अनुगमन गर्न आएको बताए।
‘मिडिया तथा सञ्चारकर्मीले उठाइदिएर नै यो विषय बाहिर आएको हो, यसकारण पत्रकार साथीहरूलाई म धन्यवाद दिन चाहन्छु,’ उनले भने ‘सेन्थेटिक ट्रयाक अहिलेसम्म हस्तान्तरण भएको छैन।’
सेन्थेटिक ट्रयाक उप्किएको विषयमा राखेपले अध्ययन समिति निर्माण गरिसकेकाले सत्य तथ्य कुरा बाहिर आउने विश्वास गरे। हस्तान्तरण नहुँदै ट्रयाक उप्केको हुँदा त्यसको सबै जिम्मेवारी निर्माण पक्षले लिनुपर्ने मन्त्री चौधरीले प्रष्ट्याए।
‘मेन्टेन गरेर पनि अन्तर्राष्ट्रिय मापदण्ड अनुसार "ओके" भएपछि मात्रै सेन्थेटिक ट्रयाक हामी हस्तान्तरण लिन्छौँ, त्यसपछि दुई वर्षमा कुनै बिग्रियो, उप्कियो वा केही भयो भने सम्पूर्ण मेन्टेन गर्ने, रेखदेख गर्ने जिम्मा ठेकेदारको भएको हुनाले त्यसमा चिन्ता लिनुपर्दैन,’ उनले भने।
पत्रकारको अर्को प्रश्नमा राष्ट्रिय खेलकुद परिषद्का निर्मित भौतिक संरचनाको संरक्षण गर्ने विषयमा मन्त्रालय गम्भीर रहेको उनले बताए।
‘यस विषयमा ओएम सर्भे भइसकेको छ, ओएम सर्भे भइसकेपछि केही दिनपछि अर्थ मन्त्रालयमा हामीले यसको स्वीकृतिका लागि पठाउँदै छौं,’ मन्त्री चौधरीले भने ‘यो पठाइसकेपछि यहाँ कर्मचारी पनि आउन सक्छन्, त्यसपछि हामीले प्रदेशलाई पनि हस्तान्तरण गर्न सक्छौं वा नगरपालिकालाई पनि हस्तान्तरण गर्न सक्छौं।’
सबै भौतिक संरचना राखेपले मात्रै रेखदेख गर्न सक्ने अवस्था नरहेको उनले प्रष्ट्याए। अर्बौँ रुपैयाँको लगानी बनेका भौतिक संरचना बेवारिसे राख्न नहुने मन्त्री चौधरीको भनाई छ। उनले थपे, ‘हामीले कर्मचारी राखेर हुन्छ कि के गरेर हुन्छ, रेखदेख गर्छौँ। होइन भने स्थानीय तह वा प्रदेशलाई यो रंगशाला हस्तान्तरण गर्छौँ।’
यसैबीच नेपाल प्रेस युनियन बाँकेले बुधबार अपराह्न आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री चौधरीले कर्णाली प्रदेशमा हुन लागेको दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिता तोकिएको समयमा सम्पन्न गर्नका लागि ठेकेदार माथि निर्भर रहने बताए।
‘प्रतियोगिता तोकिएकै समयमा सम्पन्न गर्नका लागि हामी तयारीकै क्रममा छौं, तर कतिपय भौतिक संरचना निर्माण नभएको हुँदा ठेकेदार माथि नै निर्भर रहेको छ,’ उनले भने।
कर्णाली प्रदेशमा खेलकुद प्रतियोगिता आयोजना भएपनि केही खेलहरु बाँके र बर्दियामा पनि गराउने विषयमा पनि आवश्यक छलफल भइरहेको मन्त्री चौधरीले सुनाए। कर्णाली प्रदेशमा खेलकुद प्रतियोगिता अवधिभर खेलाडीलाई बसाउन समेत समस्या देखिएको उनले बताए।
यो पनि पढ्नुहोस्
‘सेन्थेटिक ट्रयाक’ उप्किएकोबारे अध्ययन गर्न समिति गठनयो पनि पढ्नुहोस्
निर्माणको एक महिनामै उप्कियो ‘सेन्थेटिक ट्रयाक’प्रकाशित: ५ भाद्र २०८१ १९:१७ बुधबार