७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘सेन्थेटिक ट्रयाक’ उप्किएकोबारे अध्ययन गर्न समिति गठन

निर्माण सम्पन्न भएको एक महिनामै उप्किएको नेपालगन्ज रंगशालामा रहेको सेन्थेटिक ट्रयाक अध्ययन गर्दै समितिका पदाधिकारी लगायत। तस्बिर: अर्जुन ओली/नागरिक

निर्माण सम्पन्न भएको एक महिनामै नेपालगन्ज रंगशालाको ‘सेन्थेटिक ट्रयाक’ उप्किएपछि यसबारे अध्ययन थालिएको छ।

सेन्थेटिक ट्रयाक उप्किएको समाचार सार्वजनिक भएपछि राष्ट्रिय खेलकुद परिषद्ले राखेपका सदस्य समेत रहेका नेपाली क्रिकेटका पूर्वराष्ट्रिय कप्तान एल.बि. क्षेत्रीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो।

समितिले बुधबार नेपालगन्ज रंगशालामै पुगेर स्थलगत रुपमा अध्ययन गरेको छ। प्रारम्भिक अध्ययनका क्रममा समितिले सेन्थेटिक ट्रयाकमा निर्माण पक्षबाट प्राविधिक रुपमा केही त्रुटि गरेको कुरा औँल्याएको छ।

राखेपले सेन्थेटिक ट्रयाक निर्माण गर्नका लागि ठेकेदार कम्पनी ‘पञ्चकन्या/सिनकुट जेभी’ ललितपुरलाई ९ करोड ८६ लाख ४० हजार ८ सय ३२ रुपैयाँमा ठेक्का दिएको थियो।

सन् २०२३ मार्च २३ मा ठेक्का सम्झौता भएकोमा सन् २०२४ जनवरी ५ मा काम सम्पन्न गरिसक्नुपर्ने थियो। तर, ठेकेदार कम्पनीले गत असार मसान्तमा मात्र काम सम्पन्न गर्‍यो। निर्माण सम्पन्न भएको एक महिनामै उप्किएपछि सेन्थेटिक ट्रयाकको गुणस्तरमाथि प्रश्न उठिरहेको छ।

अध्ययन समितिका संयोजक क्षेत्रीले प्रारम्भिक अध्ययनका क्रममा सेन्थेटिक ट्रयाकको ‘डी एरिया’ मा उप्किएको, उत्तर–दक्षिण साइडमा विभिन्न स्थानमा पानी जम्ने गरेको पाइएको बताए।

‘हामीले औपचारिक रुपमा अध्ययन गरेका छौं, यसका कमी, कमजोरी देखिएका छन्, त्यसलाई लिपिबद्ध गरेर उतार्छौ,’ उनले नागरिक न्यूजसँग भने ‘राखेप र नेपाल सरकारले पनि अध्ययन गरेर जो दोषी देखिन्छ, यसलाई कारबाही गर्नुपर्छ। यसमा के भएको छ ? कमी कमजोरी केही न केही देखिन्छ, कमी कमजोरी कुन स्तरको छ, हामी पनि बसेर अध्ययन गर्छौ र रिपोर्ट तयार गर्छौ।’

अध्ययनका क्रममा देखिएका कुरालाई लिपिबद्ध गरेर राखेप समक्ष प्रतिवेदन पेश गर्ने संयोजक क्षेत्रीले सुनाए। आफूहरूको सुझाव अनुसार राखेपले सम्बन्धित पक्षलाई कारबाहीको दायरामा ल्याउनेमा आफू विश्वस्त रहेको उनी बताउँछन्।

ठेकेदार कम्पनीका इन्जिनियर मनिषकुमार शाहले निर्माण सम्पन्न भएको ट्रयाक बिग्रेपछि पुनः निर्माण गरिने बताए। यसका लागि भारतबाट सम्बन्धित कम्पनीलाई बोलाइसकेको जानकारी दिए।

‘सेन्थेटिक ट्रयाक निर्माण स्थलमा ह्याम्बर उप्काउनको लागि हामीले क्रेन ल्याएका थियौं, त्यसको असरले यो समस्या आएको हो कि जस्तो लागेको छ,’ उनले भने ‘हामीले समयमै निर्माण सम्पन्न गर्नुपर्ने थियो, त्यसको कारणले पनि यस्तो भएको हुन सक्छ।’ उक्त ठेकेदार कम्पनीले यसअघि काठमाडौंको भद्रकालीस्थित नेपाली सेनाको र लगनखेलमा सेन्थेटिक ट्रयाक निर्माणको काम गरेको उनले सुनाए।

नेपालगन्जको समृद्धिसँग जोडिएको खेलकुदको पूर्वाधार निर्माण लगत्तै बिग्रिँदा नेपालगन्जवासीले यसको उच्च स्तरीय छानबिन हुनुपर्ने माग गरेका छन्।

निर्माण कार्यको अख्तियार लगायतका निकायले पनि आफ्नो तर्फबाट छानबिन गर्नुपर्ने उनीहरूको माग छ। नेपालगन्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले राखेपको अध्ययन समिति गठन भएर छानबिन थालिनु सकारात्मक कुरा भएपनि यसको उच्च स्तरबाट पनि छुट्टै छानबिन हुनुपर्ने बताए।

‘जुन हिसाबले सम्झौता भएको छ, त्यो हिसाबले काम भएको छैन, हस्तान्तरण नहुँदै भत्किनु भनेको कमसल खालको सामाग्री प्रयोग भएको छ,’ उनले भने ‘यो विषयमा अध्ययन समितिले पक्कैपनि ध्यान दिएर हेर्नेछ। यदि सम्झौता अनुसार भएको छैन भने यसलाई पुरै भत्काएर नयाँ बनाउनुपर्छ।’

सरकारले झण्डै १० करोड रुपैयाँ खर्च गरेर बनाएको सेन्थेटिक ट्रयाक उप्किँदा आफूहरू दुःखी भएको श्रेष्ठले बताए।

नेपालगन्जमा सेन्थेटिक ट्रयाक निर्माणका क्रममा राखेपले केन्द्रबाटै इन्जिनियर तथा कर्मचारी टोली खटाएको थियो। राखेपले निर्माणका क्रममा स्थानीय स्तरमा अनुगमन समिति बनाउने आवश्यकता ठानेन। फलस्वरुप, सेन्थेटिक ट्रयाक गुणस्तरहीन बनेको यहाँका सम्बद्ध सरोकारवाला बताउँछन्।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष संदिपजंग शाहले सेन्थेटिक ट्रयाक निर्माणका क्रममा राखेपले अनुगमन नै गर्न नदिएको दुखेसो पोखे। ‘हामीले स्थानीय स्तरमा अनुगमन समिति बनाउन माग गर्दै आठ महिना अघि तालाबन्दी नै गरेका हौं,’ उनले भने ‘जुन कुरा हामीले पहिले उठाएका थियौं, त्यसको परिणाम अहिले देखियो।’

सेन्थेटिक ट्रयाक कतै चर्केको, कतै पानी जम्ने गरेको भन्दै उनले यसमा अनियमितता भएको कुरा प्रष्ट रुपमा देखिएको बताए।

प्रकाशित: ५ भाद्र २०८१ १५:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App