साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलङ्काबीच प्रतिष्पर्धा हुँदैछ।
समूह ‘ए’ मा रहेका नेपाल र श्रीलङ्काबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ।
नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ। घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो।
यसबीच युवा टोलीले पर्याप्त तयारी गर्ने अवसर पनि पाएका छन्। उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ।
तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो। त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ। पहिलो खेल जित्दै नेपाल आफूलाई दाबेदारको रूपमा उभ्याउन चाहन्छ।
समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलंका छन्। अर्को समूहमा साविक विजेता भारत, माल्दिभ्स र भुटान छन्। यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भूटान र माल्दिभ्सले प्रतिष्पर्धा गर्दैछन्।
प्रकाशित: २ भाद्र २०८१ ०८:३६ आइतबार