६ पुस २०८१ शनिबार
image/svg+xml
खेल

एएफसी च्यालेन्ज कप प्लेअफ: हिल्लाम्मे मैदानमा संघर्ष

चर्च ब्वाइज युनाइटेडका मुख्य प्रशिक्षक बालगोपाल महर्जन एएफसी च्यालेन्ज कपको प्लेअफअन्तर्गत पारो एफसीविरुद्ध खेल्नुअघि नै केही निराश र शंकामा थिए। यस्तो हुनु स्वाभाविक नै थियो। किनभने यसपल्ट चर्च ब्वाइजसँग खेल्न नेपाल उत्रिएको भुटानी क्लबमा भुटानी खेलाडीको बाहुल्यता थिएन। 

नाम हेर्दा भुटानी लागे पनि विदेशी खेलाडीको ताँँतीले झट्ट हेर्दा कुनै अन्तर्राष्ट्रिय टोलीकै झल्को दिन्थ्यो। त्यसमा पनि तीनपल्ट जापानबाट विश्वकप खेलिसकेका केइसुके होन्डाजस्ता ठूला नाम हुनुले खेल सुरु हुनुअघि नै महर्जनले हार स्वीकार गरिसकेका थिए। त्यो नि फराकिलो । तर, बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा उत्रिँदा विपक्षी टोली उनले सोचेजस्तो बलियो निस्किएन।

त्यसैले पारोसँग २–१ ले पराजित हुँदा उनी दंग र सन्तुष्ट देखिए । ‘खेल ५०/५० थियो। पाएका अवसर दुवै टोलीले सदुपयोग गर्न सकेका थिएनन्। हाम्रा तीन जना विदेशी खेलाडीभन्दा उनीहरूका बढी प्रभावकारी देखिए। हामीले पनि सक्दो प्रयास गरेका हौं, तर सकेनौं। यद्यपि, यो नतिजाबाट सन्तुष्ट छु,’ उनले भने। सन् २०१९ देखि २०२४ सम्म लगातार चारपल्ट भुटान प्रिमियर लिग जितेर पारोले एएफसी कप प्लेअफमा स्थान बनाएको हो। विजेताको हैसियतले तीनपल्ट पारोले एएफसी कपको प्लेअफ पनि खेल्यो।

तर, ती तीनवटै प्लेअफ पारोले पार गर्न सकेन । एकपल्ट नेपालकै मच्छिन्द्र फुटबल क्लब बाधक बन्यो । लगातारको निराशाजनक हार सहन गर्न नसक्ने स्थितिमा पुगेपछि पारोले यसपल्ट होन्डासहित ११ विदेशी खेलाडी अनुबन्धित गर्दै टोली बनाएको हो। त्यो टोली चर्च ब्वाइजको तुलानामा बलियो देखिन्थ्यो। त्यसैले यसपल्ट चर्च ब्वाइजविरुद्ध नतिजा निकाल्नेमा पारो ढुक्क देखिन्थ्यो। पारोले त्यो लक्ष्य पूरा मात्र गरेन, नेपाली राष्ट्रिय टोली सदस्यले भरिएको चर्च ब्वाइजलाई हरायो । यो जित भुटानी फुटबलका लागि ऐतिहासिक पनि हो। किनकि भुटानले पहिलोपल्ट नेपालको कुनै पनि सिनियर टोली पराजित गरेको हो।

यद्यपि, पारोले यो इतिहास रच्दा चर्च ब्वाइजको कमजोर डिफेन्स पनि कारण हो। ३९औं मिनेटमै लाकेन लिम्बूले गोल गर्दै चर्च ब्वाइजलाई सुरुआती अग्रता दिलाएका थिए। उनी यही प्रतियोगिताका लागि थ्री स्टार क्लबबाट चर्च ब्वाइज भित्रिएका हुन्। मोसेस ग्याबाले मिलाइदिएको पासमा उनले गोललाइननजिकबाट गरेको प्रहार गोलमा परिणत भयो। तर, एक मिनेट पनि नबित्दै पारो खेलमा फर्कियो। 

मोन्टेनेग्रोका मार्को इभानोभिचले दिएको लामो बललाई पन्च गर्न गोलकिपर दीप कार्की अगाडि बढेका थिए । त्यही अवस्थामा अनमार्क किङ्गा वाङ्चुकले खाली पोस्टमा गोल गर्दै खेल बराबरीमा ल्याए। यस क्रममा चर्च ब्वाइजको व्यवस्थापन निक्कै फितलो देखियो। पारो खेलमा फर्किंदा चर्च ब्वाइजका १० खेलाडी मैदान थिए। 

पहिलो गोल गरेसँगै चर्च ब्वाइजले सेलिब्रेसन गर्न लामो समय लियो। त्यही सेलिब्रेसनमा विंगर आयुष घलानको बुट फुत्कियो। त्यो लगाउन उनलाई बाहिर बोलाइएको थियो। उनले पनि बुट लगाउन समय लगाए। वान डाउन रहेको फाइदा उठाउँदै किङ्गाले पारोलाई खेलमा फर्काए। किनभने किङ्गालाई राइट एन्ड साइडमा आयुषले नै मार्क गरिरहेका थिए। एक गोल खाएपछि चर्च ब्वाइजले बलियो डिफेन्स बनाउनुपर्ने हो। यसमा पनि प्रशिक्षक महर्जन चुके। दोस्रो गोल पनि चर्च ब्वाइजले आफ्नो फितलो रणनीतिले बेहोर्न पुग्यो।

६७औं मिनेटमा विलियम ओपोकुले पारोलाई अग्रता दिलाए। गोलकिपर मिलोस कुपिचले मध्यभागबाट क्लियर गरेको बललाई डिफेन्डर ओमोलाजा करिमले नियन्त्रणमा लिने प्रयास गरेका थिए। तर, उनी चुक्दा पेनाल्टी बक्सबाहिरबाट ओपोकुको सशक्त प्रहार गोलमा परिणत भयो। यसमा महर्जन केही निराश देखिन्छन्। ‘मिडफिल्ड र डिफेन्समा राम्रो गर्न सकेनौं। त्यसमा करिमले पनि केही गल्ती गर्न पुगे र हारको कारण यही हो,’ उनले भने।  

मैदानको स्तरमा प्रश्न

खेल सुरु हुनुभन्दा डेढ घण्टाअघि देखि नै ठूलो वर्षा भएको थियो। वर्षाले मैदान हिलाम्मे बन्यो। पानी जमेका कारण खेल हुन्छ या हुँदैन भन्ने दुबिधामा रंगशाला पुगिसकेका दर्शकहरू पनि थिए। तर, खेल सुरु भयो। मैदान हिलाम्मे हुँदा दुवै टोलीका केही खेलाडीले सेट पिसमा गोल पनि निकाल्न सकेन। खेलको ५४औं मिनेटमा चर्च ब्वाइजका एरिक विष्ट पेनाल्टी बक्सभित्रबाट प्रहार गर्न खोज्दा चिप्लिन पुगे। उक्त बल प्रहार भइदिएको भए चर्च ब्वाइजले अग्रता लिने थियो। तर, त्यो हुन सकेन। आफू खेल्दाताकादेखि नै यो मैदान यस्तै भएको र सुधार नभएको देख्दा महर्जन केही निराश देखिए ।

‘हामी ३५/४० वर्ष अगाडि खेल्दा पनि मैदानको यही हालत थियो। अहिले पनि यही अवस्था छ । पिच राम्रो भइदिएको भए राम्रो नतिजा दिन सक्थौं होला,’ उनले भने। होन्डाजस्ता विश्वस्तरीय खेलाडी दशरथ रंगशालामा उत्रिने भएपछि उनलाई नै हेर्ने पुग्ने समर्थक पनि थिए। उनी खेल्ने भनेपछि नेपालमा मात्रै होइन, भुटान, भारत र जापानमा पनि यो खेलको चर्च चुलिएको थियो। त्यसैले उनले कस्तो खेल्छन् र कति गोल गर्छन् भन्ने उत्सुकता धेरैलाई थियो। खेल हुनुभन्दा दुई दिनअघि मात्रै प्रशिक्षण गर्ने मैदान तयार नभएकोमा होन्डा असन्तुष्ट थिए।

उनले आफू प्रशिक्षण गर्न पुग्दा मैदानमा १०० जना जति काम गरिरहेको र हिलोले खेल्ने वातावरण नभएको भन्दै व्यवस्थापनले जोक गरेको भन्दै आपत्ति जनाएका थिए। त्यसैले दशरथ रंगशालामा केही सुधार हुने अपेक्षा गरिएको थियो। तर, अपेक्षाअनुसार पिचमा केही परिवर्तन भएन र हिलाम्मे मैदानमा खेलेर उनी फर्किंदै छन्। 

यसले नेपालको एक मात्रै अन्तर्राष्ट्रिय मान्यताप्राप्त मैदान अझै पनि खेल्न अयोग्य रहेको भन्ने सन्देश दिने देखिन्छ। पारोका प्रशिक्षक पुष्पलाल शर्मा पनि यो कुरालाई नकार्न सक्दैनन्। खेलाडीको प्रदर्शनका हिसाबले नेपाल र नेपाली क्लबमाथि कुनै पनि खोट लगाउने ठाउँ नभए पनि भौतिक पूर्वाधारले भने आफूलाई निराश बनाएको उनको भनाइ थियो। ‘नेपाली खेलाडीको प्रतिभामा कुनै कमी छैन। आजको खेलमा चर्च ब्वाइजले टक्कर दिइरहेको थियो । तर, पिचको कारण उनीहरूले राम्रो प्रदर्शन गर्न सकेनन्। मलाई लाग्छ नेपालको भौतिक पूर्वाधारले पनि उनीहरूलाई माथि जान दिँदैन,’ उनले भने । 

भुटानको चाम्लिमिथाङ रंगशाला टर्फको हो । यसमा वर्षा भए पनि खेल्न कुनै समस्या छैन। त्यसैले पनि भुटानले भविष्य खोजेर टर्फ पिच निर्माण गरेको हो। नेपाल हिमाली देश हो। यहाँ वर्षा भइरहने भएको कारण खेलकुदका गतिविधि ९ महिना सञ्चालन गर्न गाह्रो छ। वर्षाकै कारण साउन १ गतेदेखि नै प्रशिक्षण थाले पनि चर्च ब्वाइजले राम्रो तयारी गर्न पाएको थिएन। 

जति समय मिल्यो उनीहरू यसैमा खुसी भएर पारोविरुद्ध उत्रिएका थिए । त्यही पनि यो टोलीले पहिलो हाफमा राम्रो प्रदर्शन गर्न सक्यो। भुटानले पछिल्लो समयमा खेलमा सुधार गर्नुमा आर्टिफिसियल टर्फको भूमिका धेरै रहेको शर्मा बताउँछन्। ‘धेरै आर्टिफिसियल टर्फ भइदिएको भए राम्रो हुन्थ्यो। ग्रासरुटदेखि मात्रै होइन सिनियरमा पनि अगाडि बढ्ने मौका पुग्थ्यो। त्यसैले नेपालले यसबारे सोच्नुपर्छ,’ उनले भने।

प्रकाशित: ३० श्रावण २०८१ ०८:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App