पाँचथरको फिदिममा शनिबारदेखि सुरु भएको ११औँ फाल्गुनन्द गोल्डकपको उद्घाटन खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लब विजयी भएको छ।
आयोजकले भारतको कर्साङ फुटबल क्लबलाई ट्राईब्रेकरमा ५-४ को अन्तरले पराजित गर्दै पहिलो जित हात पारेको हो।
खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो। ट्राईब्रेकरमा कर्साङका जर्सी नम्बर १७ का चुजल लामाले गोल गर्न असफल हुँदा आयोजकले ५-४ को जित दर्ता गर्यो।
उद्घाटन खेलको ‘म्यान अफ द म्याच’ फिदिम स्पोर्टिङका गोलकिपर मिराक खजुम घोषित भए। उनको उत्कृष्ट प्रदर्शनले टोलीलाई जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो।
प्रतियोगितामा विजेता टोलीले नगद १० लाख र उपविजेताले ५ लाख पुरस्कार पाउनेछ। फिदिम स्पोर्टिङ क्लबका अनुसार आइतबारको खेल मछिन्द्र क्लब काठमाडौं र झापा–११ बीच हुने कार्यक्रम रहेको छ।
प्रकाशित: ६ पुस २०८१ २०:१५ शनिबार