न्युरोड टिम (एनआरटी)ले ललित स्मृति यु–१८ युथ लिगको शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबसँग अंक बराबरी गरेको छ। यसका लागि एनआरटीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार सम्पन्न पहिलो खेलमा खराब लयबाट गुज्रिरहेको अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४–२ ले हरायो।
पाँचौं जितसँगै दोस्रो स्थानमा उक्लिएको एनआरटीले सात खेलबाट १६ अंक जोडेको छ। समान अंक नै रहे पनि पुलिस गोलसंख्याका आधारमा शीर्ष स्थानमा यथावत् छ। पुलिसले जारी लिगमा २० गोल गर्दा पाँच गोल मात्रै बेहोर्न परेको छ।
एनआरटीले भने १३ गोल गर्दा आठ गोल खान पुगेको छ। यद्यपि, एनआरटीभन्दा आर्मीले एक खेल कम खेलेको छ। अर्कोतर्फ १०औं स्थानमा रहेको आर्मीको यो पाँचौं हार हो। आर्मीले समान सात खेलबाट चार अंक मात्रै जोड्न सकेको छ।
एनआरटीले पहिलो हाफमै आर्मीलाई दबाबमा राखेको थियो। क्विक कर्नर प्लेमा ईशान थापाले उपलब्ध गराइदिएको बललाई २२औं मिनेटमा सन्तोष गोन्ग्बाले हेडिङमार्फत जाली चुमाए। यो लिगको १००औं गोल थियो। जारी लिगमा उनको भने यो व्यक्तिगत चौथो गोल हो। लिगको उद्घाटन खेलमा चर्च ब्वाइज युनाइटेडविरुद्ध एनआरटीकै अमनबहादुर तामाङले पहिलो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि नै कप्तान विज्ञान खड्काले टोलीका लागि अर्को गोल थपे।
सन्तोषले उपलब्ध गराइदिएको पासलाई अनुपजंघ खत्रीले डी बक्समा आर्मीका तीन डिफेन्डरलाई बिट गर्ने प्रयास गरेका थिए। उनलाई रोक्ने क्रममा दिग्विजय शाहीले हातले बल छोएपछि रेफ्री दिनेश अधिकारीले एनआरटीलाई पेनाल्टी दिएका थिए। जसमा विज्ञान चुकेनन्।
दोस्रो गोल खाएसँगै आर्मीले डिफेन्समा लगातार गल्ती गर्दै गयो। फलतः ४२औं मिनेटमा विज्ञान व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गर्न सफल भए। विनायक थारूले कर्नरबाट दिएको बललाई अंकित थापाले हेडर गरेका थिए। तर, हुलमुलमा आर्मीका रुस्तम थापामगरले बचाउन सकेनन्। र, गोल लाइननजिक रहेका विज्ञानले बललाई जाली चुमाए।
पहिलो हाफको निर्धारित समय सकिन केही सेकेन्ड बाँकी रहँदा आर्मीका भुवन कामीले गोल गरे। एनआरटीका दीपेन राईले रविन घलेलाई फाउल गर्न पुगेपछि आर्मीले करिब ३० यार्डमा फ्रिकिक प्राप्त गरेको थियो। फ्रिकिकमार्फत आएको बललाई अनमार्कमा रहेका भुवनले कनेक्ट गर्दै गोलमा परिवर्तन गरेका थिए।
आर्मी पहिलो हाफमा फितलो फिनिसिङका कारण ३–१ ले पछि परेको थियो। दोस्रो हाफमा पनि आर्मीले केही सुधार ग¥यो। जसका कारण एनआरटीका डिफेन्डर केही दबाबमा परे। ६८औं मिनेटमा काउन्टरमा बल अगाडि बढाइरहेका आर्मीका रविनलाई डी बक्सभित्र फाउल गर्न पुगेपछि रोहन मोक्तानले पहेंलो कार्ड पाए। त्यसपछि पाएको पेनाल्टीमा आर्मीका अनुभव पुरी चुकेनन्।
दोस्रो गोल गर्दा विज्ञानले जसरी गोलमा परिणत गरेका थिए, अनुभवले पनि त्यसरी नै बललाई जाली चुमाए। उनको गोलसँगै आर्मीले खेलमा जीवनदान पाएको थियो। तर, ३–२ को स्थितिमा पुगिसकेको खेलको निर्धारित समय सकिन केही समय बाँकी रहँदा आर्मीले पुनः सन्तुलन गुमाउन पुग्यो। जसमा विज्ञानले फेरि फाइदा उठाउन पुगे। सन्तोषले उपलब्ध गराइदिएको बललाई ९०औं मिनेटमा ओपन प्लेबाट विज्ञानले गोल गर्दै ह्याट्रिक पूरा गरे।
लिगमा यो तेस्रो ह्याट्रिक हो। यसअघि पुलिसका विक्रम गौतमले थ्री स्टार क्लब र जावलाखेल युथ क्लबका विवश दर्लामीले चर्च ब्वाइजविरुद्ध ह्याट्रिक गरेका थिए।
अर्को खेलमा भने मच्छिन्द्र फुटबल क्लबले मनाङ मर्स्याङ्दीमाथि २–१ को रोमाञ्चक जित हासिल गर्यो। यो हारसँगै पुलिस र एनआरटीलाई उछिन्दै पुनः शीर्ष स्थानमा उक्लिने मौका मनाङले गुमायो। तेस्रो स्थानमा रहेको मनाङको सात खेलबाट १५ अंक छ। समान खेलबाट मच्छिन्द्रले १४ अंक जोडेको छ। मच्छिन्द्र अंक तालिकामी चौथो स्थानमा यथावत् छ।
मच्छिन्द्रका प्रशान्त म्यान्याङ्बेले मनाङका डिफेन्डरलाई बिट गर्दै दिएको लामो बललाई डी बक्सभित्र रहेका रोनिक रानामगरले नियन्त्रणमा लिएका थिए। अनमार्कमा रहेका उनलाई उक्त बल जाली चुमाउन खासै समस्या परेन।
२२औं मिनेटमै मनाङ खेलमा पछि परेको थियो। तर, त्यसको पाँच मिनेटमै दर्शन अधिकारीले मनाङलाई खेलमा फर्काए। सिद्धान्त खड्काले दर्शनलाई डी बक्समा लडाएपछि मनाङले पेनाल्टी पाएको थियो। तर, यु–१६ राष्ट्रिय टोलीका गोलरक्षक पेम्बा नेर्बु भोटेले आफ्नै टिममेटको प्रहार बचाउन सकेनन्।
मनाङले अघिल्लो खेल एपिएफसँग पेनाल्टीमै २–१ ले गुमाएको थियो। यसपल्ट पनि मनाङसँग त्यस्तै घटना दोहोरियो। खेल बराबरीमा आएको तीन मिनेटपछि नै भूपेन्द्र धरलाले हाफ भलिबाट गोल गर्दै मच्छिन्द्रलाई २–१ को अग्रता दिलाए।
भूपेन्द्रले उपलब्ध गराइदिएको बललाई हेडर गर्दै प्रसुन तामाङले ६०औं मिनेटमा मच्छिन्द्रको अग्रता ३–१ मा पुर्याए। निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा अमृत बस्यालले मनाङका लागि गोल गरेका थिए। तर, त्यो जितका लागि पर्याप्त भएन र खेल ३–२ ले गुमायो।
प्रकाशित: २१ श्रावण २०८१ ०७:१७ सोमबार