२३ भाद्र २०८१ आइतबार
image/svg+xml
खेल

क्रिकेटर ऐरी भन्छन्ः म हरेक खेलमा सकारात्मक भाव लिएर खेल्छु

प्रतिभा माविले बनायो क्रिकेट ‘प्राक्टिस नेट’

पोखराको प्रतिभा माविका विद्यार्थीसँग गफिँदै ऐरी। तस्बिरः नागरिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख खेलाडी हुन् दीपेन्द्र सिंह ऐरी। उनै क्रिकेटर ऐरीले आइतबार पोखरामा विद्यालयतहका विद्याथीसँग क्रिकेटप्रतिको आफ्नो मोह र सफतला हात पार्ने तरिकाबारे अनुभव बाँडेका छन्।

यहाँस्थित प्रतिभा माविले क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय परिसरमा क्रिकेटको ‘प्राक्टिस नेट’ तयार पारेको थियो। त्यही ‘प्राक्टिस नेट’ को उद्घाटन गर्नुअघि क्रिकेटर ऐरी प्रतिभाका ११ र १२ कक्षामा पढ्ने विद्याथीसँग केहीबेर गफिए।

विद्यार्थीले सोधेका प्रश्नको जवाफ दिने क्रममा ऐरीले भने, ‘हरेक खेलमा म सकारात्मक भाव लिएर खेल्न जान्छु। खेलमा हार वा जित जे भएपनि एउटा गेम सकिएपछि अर्काेको बारेमा मात्र सोच्ने गर्छु। सकिएको खेलबारे धेरैबेर सोच्नुपर्दैन।’ उनले भने, ‘किनकी त्यो गेम पहिल्यै सकिएको हुन्छ। सकारात्मक सोचेर आगामी खेलको तयारी गर्नुपर्छ। कुनै पनि खेलमा जितबारे सोच्नुपर्छ, त्यसले सफलता पाउँछ।’

आफु जहिल्यै अनुशासनमा रहेर खेल्ने उनले बताए। ‘म अनुशासनमा रहेर मेहनत गर्छु। त्यसले मलाई सफलता दिलाउँछ,’ ऐरीले विद्यार्थीलाई सुझाए, ‘कुनैपनि खेल क्षेत्रमा लाग्ने हो भने तलैदेखि आशावादी हुनुपर्छ।’ उनले सरकारले कुनैपनि खेललाई प्राथमिकता दिनुपर्ने बताए। ‘सरकार र निजी क्षेत्र सबैको साथ रह्यो भने कुनैपनि खेल क्षेत्र अघि बढ्न सक्छ,’ उनले भने, ‘एउटा क्षेत्रको मात्र साथले हुँदैन।’  

परिवारको साथ र सहयोगले गर्दा क्रिकेटमा आफुलाई टिकाईरहन सहज भएको उनले बताए। ‘ऐरीले भने, ‘परिवारको साथ र सहयोग पनि खेलक्षेत्रमा उत्तिकै आवश्यक छ। अहिले त मेरो खेल परिवारका सबै सदस्य बसेर हेर्नुहुन्छ,’ उनले भने, ‘मेरो खेलप्रतिको मोह परिवारले बुझेकोले मलाई सहज भएको छ।’  

पोखराको प्रतिभा माविले विद्यालय परिसरमा बनाएको क्रिकेट प्राक्टिस नेट उद्घाटन गर्दै ऐरी। तस्बिरः नागरिक 

विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार विद्यालय परिसरभित्र क्रिकेटको मापदण्ड अनुसारको दुइवटा प्राक्टिस नेट बनाईएको छ। जहाँ क्रिकेटमा रुची राख्ने विद्यार्थीले अभ्यास गर्न पाउनेछन। ‘विद्यालयले नियमित अध्यापनसँगै खेलकुदमा पनि उत्तिकै ध्यान दिएको छ। त्यही भएर क्रिकेटको प्राक्टिस नेट तयार पारेका हौ। विद्यार्थीले नियमित अभ्यास गर्न पाउनेछन,’ उनले भने।  

विद्यालयले गत वर्ष पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधि हात पारेकाे थियो। त्यसपछि क्रिकेटमा बढी ध्यान दिएको सापकोटाले बताए। ‘विद्यार्थीसँग आ आफ्नै क्षमता हुन्छन। पछिल्लो समय क्रिकेटप्रति युवापुस्ताको रुची निकै नै बढेको छ,’ उनले भने, ‘विद्यार्थीलाई क्रिकेट खेलमा आकर्षण गर्नका लागि पनि अभ्यास नेट तयार पारेका हौ।’ विद्यायले सामाजिक उत्तरदायित्व निभाउने क्रममा यसअघि क्रिकेटर सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ललाई सम्मान गरिसकेको छ।  

उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष नारायणले पौडेल क्रिकेट खेलले सिंगो नेपाल र नेपालीको गौरव बढाएको बताए । ‘हारजित आफ्नो ठाउँमा छ। तर, नेपाली क्रिकेटरले अन्तर्राष्ट्रियस्तरमा नेपालको नाम राखेका छन,’ उनले भने, ‘ठूलो लगानी गर्ने मुलुकका अघि नेपालको खेलकुद क्षेत्रमा लगानी कम भएपनि क्रिकेटले नेपाललाई विश्वमै चिनाएको छ।’  

क्रिकेट खेलमा लगानी गर्दा विद्यार्थीलाई त्यस खेलप्रति लाग्न प्रेरणा मिल्ने पनि उनले बताए। ‘क्रिकेटमा पूर्वाधारमा हामीले थोरै भएपनी लगानी गरेका छौ। यो सुरुवाती लगानी हो। यो लगानीले विद्यार्थीलाई क्रिकेटमा लाग्न प्रेरणा मिल्नेछ,’ उनले भने, ‘खेलकुदमा लागेर पनि उच्च सुविधा पाइन्छ भन्ने विद्यार्थीलाई बुझाउन जरुरी छ। त्यसबाहेक विद्यार्थीको खुबी उजागर गर्न पनि यस्तो लगानी आवश्यक रहेको छ।’ 

प्रकाशित: ३० असार २०८१ १६:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App