१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

देशको भौगोलिक अखण्डता र राष्ट्रिय स्वाधीनतामाथि चुनौती बढेको छ : प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र सार्वभौमसत्तामाथि चुनौती बढिरहेको बताएका छन्।

पोखरामा आयोजित पार्टी भेलालाई सम्बोधन गर्दै उनले मुलुकले सुगौली सन्धियता गम्भीर प्रकृतिका चुनौती सामना गरिरहेको टिप्पणी गरे।

उनले भने, ‘राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता नेपाली जनताको, भौगोलिक अखण्डता नेपालको निकै नै चुनौतीपूर्ण छ। जनताको वर्ग, श्रमजीवीमाथि प्रहार भएको छ। सुकुम्वासी, ट्रेड युनियन, सीमाको विषय छन्। मधेशको नाममा भोट लिएर मधेशको छातीमा प्रहार गर्ने काम भइराखेको छ।’

प्रचण्डले राष्ट्र र जनतामाथि विभिन्न ढङ्गबाट दबाब र प्रहार भइरहेको दाबी गरे। उनले गएको भदौ २३ र २४ गतेका घटनालाई प्रतिक्रान्तिकारी परिघटनाको रूपमा व्याख्या गर्दै निर्वाचनपछिका राजनीतिक घटनाक्रमलाई त्यसकै निरन्तरताका रूपमा प्रस्तुत गरे।

उनले तत्कालीन परिस्थितिमा निर्वाचनमा सहभागी हुनुको विकल्प आफूहरूले नदेखेको बताए।

उनले भने, ‘त्यसबेला हामीले निर्वाचनमा जानुको विकल्प देखेनौँ। फेरि अर्को दुर्घटना तुरुन्तै हुने हो कि भन्ने सन्त्रास देशभरि थियो। २४ देखि २६ भित्र अर्को ठूलो दुर्घटनाको चर्चा परिचर्चा धेरै थियो। तपाईँहरूले पनि सुन्नुभयो होला नारायणहिटी सफा हुँदैछ, अब केही घण्टापछि अर्कै युगमा प्रवेश हुँदै छ भन्ने कुरा। पछि हामीले बुझ्दा सफा त गर्न लगाएकै रहेछन्।’

उनले देश असाधारण परिस्थितिबाट गुज्रिएको उल्लेख गर्दै राष्ट्रपति र प्रधान सेनापतिसहित विभिन्न पक्षसँगको छलफल तथा परिस्थितिको मूल्याङ्कनपछि निर्वाचनको निष्कर्षमा पुगेको बताए।

प्रकाशित: १७ असार २०८३ १९:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App