१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

भारतीय क्रिकेटका किङ्ग कोहलीको चलेन जादु, रिटायरमेन्टको हुँदैछ चर्चा

आईसिसी टी–२० विश्वकप क्रिकेट आफ्नो अन्तिम चरणमा छ। भोलि आईसिसी टी–२० विश्वकप क्रिकेट २०२४ ले आफ्नो विजेता पाउने छ।

भोलिको उपाधि खेलमा पहिलोपटक फाइनलमा पुगेको दक्षिण अफ्रिका र एकपटकको टी–२० विश्वकप विजेता भारतबीच भिडन्त हुनेछ। भारत र दक्षिण अफ्रिकाबीचको खेल राति ८ः१५ बजेबाट सुरु हुनेछ।

तर, यी सबका बीच भारतीय क्रिकेटका किङ्ग भनिने विराट कोहलीको प्रदर्शनको चर्चा निकै तीव्र बनेको छ। कारण, उनको जारी सिजनमा हालसम्म देखिएको प्रदर्शन निकै निराशाजनक छ।

भारतीय क्रिकेटका पूर्व कप्तान समेत रहेका कोहलीले सन् २०२४ को आईसिसी टी–२० विश्वकपमा हालसम्म ७ म्याच खेलेका छन् र जम्मा ७५ रन मात्रै बनाउन सकेका छन्। जबकी उनको स्ट्राइक रेट १०० र औसक निकै खराब १०.७१ रहेको छ।

क्रिकेट क्षेत्रमा ठूलो–ठूलो रेकर्ड कायम गरेका कोहलीको जारी विश्वकपमा देखिएको प्रदर्शनका बीच उनको रिटायरमेन्टको पनि चर्चा हुन थालेको छ। ३५ वर्षीय कोहली आफ्नो क्रिकेट करियरको अन्तिम चरण तर्फ छन्। तर, उनको यो प्रदर्शन पछि उनका फ्यानहरू निकै उदास देखिएका छन्।

गत महिना सकिएको इन्डियन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेका कोहलीले जारी विश्पकमा खराब प्रदर्शन गर्दा उनका सबै फ्यान र क्रिकेट जगतका दिग्गजहरू पनि अचम्मित छन्। उनको प्रदर्शन पछि आगामी म्याचहरूमा के गर्ने भन्ने विषयमा कोच लगातयले सोचविचार गर्नुपर्ने बहस पनि हुन थालेको छ।

बिहीवार साविक विजेता इङ्ग्ल्यान्डसँगको खेलमा पनि उनी ९ बलमा मात्र ९ रन बनाएर पभेलियन फर्के। जबकी दर्शक र उनका समर्थकले त्योभन्दा बढीको अपेक्षा गरिरहेका थिए।

सन् २०१४ मा भएको दक्षिण अफ्रिकासँगको सेमिफाइनलमा उनले ४४ बलमा ७२, २०१६ मा वेस्ट इन्डिजविरुद्ध भएको सेमिफाइनलमा ४७ बलमा ८९ र सन् २०२२ मा इङ्ग्ल्यान्डविरुद्ध भएको सेमिफाइनलमा उनले ४० बलमा ५० रन जोडेका थिए। तर, बिहीवारको सेमिफाइनलमा उनले ९ बलमा ९ रन मात्रै जोड्न सके। यो उनको सेमिफाइनलमा देखिएको हालसम्मकै खराब ब्याटिङ्ग हो।

कोहलीको यो छैठौँ टी–२० विश्वकप हो। उनले पहिलो टी–२० विश्वकप २०१२/२०१३ मा खेलेका थिए। जसमा उनले ५ म्याचमा १८५ रन बनाएका थिए। कोलहीले २०१६ मा ३१९ रन बनाएका थिए। जुन कुनैपनि टी–२० विश्वकप सिजनको सबैभन्दा बढी रनको रेकर्ड हो। जसलाई हालसम्म पनि कसैले तोड्न सकेका छैनन्। यसअघि २०२१ को टी–२० विश्वकपमा कोहलीले सबैभन्दा कम रन बनाएका थिए। उनले ३ म्याचमा ६८ रन मात्रै बनाउन सकेका थिए। तर, जारी सिजन उनको लागि सबैभन्दा खराब बनेको छ।

अब भोलि हुने फाइनलमा उनको प्रदर्शन कस्तो रहन्छ भनेर उनका फ्यानहरू प्रतिक्षामा छन्।

प्रकाशित: १४ असार २०८१ ०९:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App