१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

अस्पतालहरुको सुधार गर्नु नै मेरो मुख्य लक्ष्य हो: स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले अस्पतालहरुको सुधार नै आफ्नो मुख्य लक्ष्य रहेको बताएका छन्।

सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना भनाइ राख्दै मन्त्री यादवले भने ‘अस्पतालहरुको सुधार नै मेरो मुख्य लक्ष्य हो। सुधार कसरी गर्ने त्यसमै म आएदेखि नै लागिपरेको छु।’

उनले स्वास्थ्य संस्थाको सुधारका लागि मन्त्रालय रातदिन काम गरिरहेको उल्लेख गरे। राजनीति अस्थिर रहेकाले सबै ठूलो काम गर्छु भनेर प्रतिबद्धता जनाउन नसकिने बताउँदै उनले अहिले भएका संरचनालाई अझ व्यवस्थित गर्नका लागि आफू लागिपरेको जनाए।

उनले भने ‘सुधार गर्नको निमित्त अघि बढेका छौँ। राजनीति स्थिर छैन, अस्थिरता छ। जहाँ अस्थिरता हुन्छ, त्यहाँ ठूलो ठूलो क्रान्तिकारी कुरा गरेर सम्भव पनि हुँदैन। त्यसकारण जुन हाम्रो अवस्था छ, त्यसलाई कसरी सुधार गर्ने, त्यसमा हामीले अघि बढेर काम गरिरहेका छौँ।’

उनले अस्पताल सुधारका लागि मन्त्रालयका अतिरिक्त दुई जना सचिवको नेतृत्वमा काम भइरहेको जानकारी दिए। उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति कम रहेको भन्दै करारमा लिएर भएपनि काम गराउने प्रतिबद्धता जनाए।

मन्त्री यादवले बीमामा धेरै महाभारत चलिरहेको बताए। स्वास्थ्य बीमा स्वास्थ्य मन्त्रालयअन्तर्गत नरहेको भन्दै राज्यले बीमालाई स्वायत्त गरिदिएको उनले सुनाए।

आफू अग्रसर भएर बीमा बोर्डका अध्यक्षसँग कुरा गरेको र छलफल गरेर बीमामा भएका बेथितिको सुधार गर्ने उनले जनाए। सबै नागरिकलाई बीमामा समेट्न आफूहरु लाग्ने उनले प्रतिबद्धता जनाए।

प्रकाशित: १७ असार २०८१ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App