२२ असार २०८१ शनिबार
image/svg+xml
शिक्षा

काठमाडौं महानगरले कक्षा ११ का लागि चार हजार ६२४ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौं महानगरपालिकाले यस वर्ष महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० संस्थागत शिक्षण संस्थानहरूमा कक्षा ११ का लागि ४ हजार ६२४ छात्रवृत्ति कोटा निर्धारण गरेको छ।

विद्यालयहरूको भर्ना अनुपात, क्षमता, र अन्य सूचकहरूको आधारमा शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटा निर्धारण गरिएको महानगरले जनाएकाे छ।

महानगरका शिक्षा अधिकारी गोविन्दप्रसाद शर्माका अनुसार यस वर्ष व्यवस्थापन विषयमा सबैभन्दा धेरै अर्थात् २,४९३ विद्यार्थीहरूले छात्रवृत्ति पाउनेछन्। विज्ञान विषयमा १,७५२ जना, मानविकीमा १७३ जना, कानुनमा १३६ जना र शिक्षामा ७० जनाले छात्रवृत्तिमा अध्ययन गर्न पाउनेछन्।

महानगरपालिका भित्र कक्षा ११ र १२ अध्यापन हुने ३९० शिक्षण संस्था छन्, जसमा १०४ वटा विद्यालयमा विज्ञान, १७० वटामा व्यवस्थापन, ४७ वटामा कानुन, १८ वटामा शिक्षा र ५१ वटा विद्यालयमा मानविकी विषय पढाइ हुने गरेको छ।

छात्रवृत्ति आवेदनका लागि अनलाइन फारम खुला

महानगरपालिकाले शैक्षिक सत्र २०८१/८२ का लागि छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई परीक्षामा सहभागी हुन असार १५ गते बिहान १० बजेबाट अनलाइन आवेदन फारम खुला गरेको छ। विद्यार्थीहरूले असार २९ गते राती ११:५९ सम्म आवेदन दिन सक्नेछन्।

महानगरका अनुसार छात्रवृत्तिमा आवेदन दिन एसइईमा न्यूनतम १.६ जिपिए ल्याएको हुनुपर्छ। सामुदायिक विद्यालयबाट उत्तीर्ण भएको भए प्रधानाध्यापकले प्रमाणित गर्नुपर्छ।

संस्थागत विद्यालयबाट उत्तीर्ण भए स्थानीय तहको वडाध्यक्ष र विद्यालयको प्रधानाध्यापकले माध्यमिक तहमा छात्रवृत्ति प्राप्त गरेको प्रमाणित गर्दै आरक्षित कोटामा छात्रवृत्ति उपलब्ध गराउन सिफारिस गर्नुपर्छ।

छात्रवृत्तिका लागि परीक्षा साउन ४ गते शुक्रबार बिहान ८ बजेदेखि १० बजेसम्म हुनेछ।

प्रकाशित: १९ असार २०८१ १५:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App